देशका लागि गर्नुपर्ने कामको फेहरिस्त बनाउँदैछु

रेडियो नेपालको सरकारी जागिर छोडेर राप्रपामा प्रवेश गरेकी कोमल वली महाधिवेशनबाट भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । राप्रपाबाट उनी एकाएक नेकपा एमाले प्रवेश गरिन् । दाङबाट प्रतिनिधिसभाका लागि टिकट नपाएपछि बागी उमेदवारी दर्ता गराएकी उनलाई पार्टीले उमेदवारी फिर्ता लिन आग्रह गर्यो । शंकर पोखरेलसँगको लामो छलफलपछि बागी उमेदवारी फिर्ता लिएकी वलीलाई एमालेले राष्ट्रियसभामा लगेको छ । पत्रकारिता र गीतसंगीतमा ररिहरहेका बेला वली पत्रकारिताबाट देश परिवर्तन गर्न नसकिने रहेछ, त्यसैले राजनीतिमा प्रवेश गर्नुपर्यो भन्थिन् । कोमल वलीसँग अपेक्षा गरेकै पदमा पुगेपछि देश बदल्ने एजेण्डा के छन्, कला साहित्यका विषय संसदमा कसरी उठाउनुहुन्छ ? भनेर बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानीः 

  ० ० ०
पत्रकारिता गरेर देश बदल्न सकिँदो रहेनछ, यसका लागि त सदनमै पुग्नुपर्ने देखेर राजनीतिमा होमिएँ भन्नुभएको थियो । अब सदनमा पनि पुग्नुभयो । के छ तपाईंसँग देश बदल्ने खाका ? 

हो, हाम्रो समाजको ‘रुट’ मा मात्र होइन, समाजमा आमूल परिवर्तन ल्याउन नेतृत्व वर्गमा पनि यतिका दिनसम्म समस्या थिए र छन् । पत्रकारिताबाट खबरदारी गर्न सकिने तर योजनाको ‘इम्प्लिमेन्टेसन’ मा समस्या देखिँदोरहेछ । त्यो समस्या समाधान गर्न सकेमात्र देशको विकास हुन्छ, देशमा परिवर्तनको आभास गर्न सकिन्छ ।

अब देश संघीयतामा गएको छ । ‘ग्रासरुट लेवल’ मा पनि मानिस सचेत भएका छन् । संघीयताको अभ्यासले स्थानीय स्रोत साधनको प्रयोग अवश्य बढ्ने छ । तर, यसमा के कुरामा सचेत हुन जरुरी छ भने त्यो स्रोत साधनको प्रयोगमा समानता हुनुपर्छ । त्यसका लागि ‘एड्भोकेसी’ मात्र होइन, खबरदारी पनि आवश्यक हुन्छ । र, यो कुरा सदनबाट उठ्दा जति प्रभावकारी हुन्छ, त्यति बाहिर बसेर गर्दा नहुने रहेछ ।

अर्कोतिर, देशमा अहिले पनि महिलाको अवस्था कमजोर छ । केही प्रमुख पदमा महिलाको प्रतिनिधित्व त छ, तर छाउपडीमा महिलाले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् । महिलाको विकासमा पनि म ध्यान दिनेछु ।

सभ्य र सचेत समाजको निर्माणका काममा ध्यान दिने, दाङमा पुस्तकालय स्थापना गर्ने मेरा विसं. २०१८ का प्रतिबद्धता मैले सार्वजनिक गरिसकेकी छु । गाउँ, समाज राम्रो हुँदा देश सुन्दर हुन्छ । त्यसमा ध्यान दिनेछु । राष्ट्रिय सभामा रहेर गर्नुपर्ने काम आफ्नो ठाउँमा छन् । म त्योसँंगै राष्ट्रिय योजनाका साथ अगाडि बढ्नेछु । त्यसमा म एक्लै सहभागी भएर हुँदैन, सबैको साथ चाहिन्छ, त्यो वातावरण बनाएर काम गर्नेछु ।

अहिले म आफूले देशका लागि गर्नैपर्ने कामको फेहरिस्त तयार पारिरहेको छु, त्यो छिट्टै सार्वजनिक हुनेछ ।

कस्तो फेहरिस्त हो, केही भन्न मिल्छ ?
केही समयपछि सार्वजनिक भैहाल्छ । अहिले तयारीका क्रममा रहेकाले भन्नु हतार हुन्छ होला । 

लोकदेखि सुगम संगीत तथा निर्माता, निर्देशकदेखि चलचित्रकर्मीसम्मले एउटा कलाकार सदनमा पुग्नु भनेको समग्र कला क्षेत्रका लागि गर्वको विषय हो भन्दै शुभकामना दिएका छन् । यो भनेको तपाईंप्रतिको अपेक्षा हो । कसरी पूरा गर्नुहुन्छ ? 
एउटा सत् वचन छ, ‘एक्स्पेक्टेसन हर्ट्स् ।’ तर, म अब यसको अपवाद बन्ने प्रयास गर्नेछु । हेर्नुस्, हाम्रो सदन यसअघिसम्म पदको लुछाचँुडीमै अल्झन्थ्यो । अब त्यस्तो नहोला । नयाँ गतीमा देशको विकास हुनेछ । 

विडम्बना मान्नुपर्छ, यसअघि हाम्रो सदनले साहित्य, कला र सङ्गीतबाट धेरै सदस्य पाउन सकेन । विसं.२०५३ सालमा नारायण ढकाल सदनमा पुग्नु भयो, तर अहिले राजनीतिबाट उहाँ टाढिनु भएको जस्तै छ, साहित्यमा बढी देखिनु भएको छ । जे होस्, कला क्षेत्र यस अर्थमा पनि खुसी भएको हुनुपर्छ, किनकी यही क्षेत्रमा लामो समयदेखि लागेकी म सदनमा देखिँदै छु ।

अब म सदनमा राजनैतिक मात्र होइन, कलाका विषयमा पनि सान्दर्भिक कुरा राख्नेछु । एउटा देश तबमात्र समृद्ध हुन्छ, जब त्यहाँको कला, संस्कृति विकास हुन्छ, सम्मान हुन्छ । यो क्षेत्रलाई अझ मर्यादित बनाउन म लाग्नेछु । यो क्षेत्रका समस्याबारे बहस गर्न, छलफल गर्न सम्पूर्ण सर्जकहरुलाई अनुरोध गर्छु र उहाँहरुका कुरा सुनेर म त्यसलाई समाधान गर्न प्रयास गर्ने छु । म चाहन्छु मेरो प्रयासले उहाँहरुलाई महसुस होस्  ।

आफ्नै तलब सुविधा, निर्वाचन क्षेत्रको बजेट वृद्धिमा सरकार र प्रतीपक्षीको आलोचनामा रमाउने सदनमा तपाईंले कला, सिर्जनाका  विषय उठान गर्नुपर्नेछ । कत्तिको सहज होला ?
हेर्नुस्, जब बहस हुँदैन, आविष्कारको सम्भावना अन्त्य हुन्छ, जब कुनै विषय सुनाउन सकिँदैन, त्यो विषय यत्तिकै हराउँछ । त्यसैले सबैभन्दा महत्वपूर्ण विषयको थालनी हो, त्यो थालनी गर्न म तयार भएकी छु । र, कुनै पनि विषयको थालनी सहज हुँदैन ।

यो कोमलले सहज यात्रामात्र गरेकी छैन, अप्ठ्यारा भङ्गालाहरुसँग जुध्दै म यहाँ आइपुगेकी हुँ । त्यसैले सहज नहोला भनेर म केही विषयमा पनि पछि पर्दिनँ । असहज परिस्थितिलाई पनि सामना गर्न म तयार छु । सर्जकको स्वर तत्काल नसुनिए पनि कालान्तरसम्म जीवित रहन्छ, यो मैले बुझेकी छु । त्यसैले म यो क्षेत्रबारे आवाज उठाउन अप्ठ्यारो मान्ने छैन, बरु जसले यसलाई र सिर्जनात्मक कार्यलाई बेवास्ता गर्नु भएको छ, उहाँहरुलाई पनि स्वरमा स्वर मिलाउन अनुरोध गर्नेछु ।

मजदुर किसान पार्टीले नियमापत्ति जनाएजस्तै त हुने होइन तपाईंको अवाज ?
हुँदैन । किनकी सदनमा मेरो आवाज मेरो एक्लो, सिङ्गो हुने छैन । सिर्जनात्मक क्षेत्रका सबै जनाको प्रतिनिधित्व गर्दै मैले उठाउने विषयमा, मेरो आवाजमा सबैभन्दा ठूलो शक्ति किन पनि हुनेछ भने मसँग यो क्षेत्रका सबैको आवाज जोडिएर आउने छ । त्यो आवाज मेरो एक्लो आवाज होइन, कर्णालीको र माइखोलाको छङ्छङ्मा मिसिने हजारौंको आवाज हो । त्यो आवाज हिजो मेरी आमाले घर छेउको खोलामा कपडा धुँदा गाएको सुमधुर आवाज हुनेछ, मेरा सहेलीले पर्म जाँदा भाका हालेको आवाज हुनेछ, मेरा बहिनिहरुको आवाज त्यसमा मिसिने छ । मेरा बुवा, दाजुभाइको आवाजले त्यसलाई अझ सशक्त बनाउने छ ।
त्यसमाथि मेरो आवाज देशको आवाज हुने छ, पूर्व मेचिदेखी पश्चिम महाकालीसम्मको आवाजको एउटा माध्यम हुने भएकाले यो आवाज हराउने सम्भावना कल्पिन सकिएला र ?

सदनमा तपाईंका मुख्य एजेन्डा केके हुनेछन् ? 
राजनीतिक रुपमा पार्टीका अजेन्डा नै मेरा अजेन्डा हुनेछन् । पार्टीले गर्ने निर्णयमा मेरो सहमति हुनेछ । यस बाहेक नेपाली समाज विकासका अजेण्डा मेरो प्राथमिकतामा पर्ने छन् । महिला शसक्तिकरण, अध्ययनशील समाजको निर्माण, जनताको हक र अधिकार केन्द्रिकृत बहस, राष्ट्रिय मुद्दामा देशको पक्ष, कलाको क्षेत्र सुधारका योजना बनाउनु र कार्यान्वयनमा लैजानु, जनचेतना वृद्धि गर्न काम गर्नु, पारदर्शी राजनीतिक संस्कारको विकास, जवाफदेही नेतृत्वको वकालत लगायतका विषयमा म मुख्य रुपमा लाग्नेछु ।

राप्रपा छाडेर एमाले प्रवेश गर्नुभएको पदीय हिसावले त फाइदा नै भयो हैन ? 
सबैभन्दा पहिले के बिर्सिनु हुँदैन भने म पदका लागि एमालेमा प्रवेश गरेकी हैन । मेरो विचार, पार्टीले लिएको संकल्प, मैले सोचेको नेपाल र समाज, यो समाजका विभिन्न ‘डाइनामिक्स’ बारे मेरो र एमालेको समान बुझाइ लगायतका कारणले एमाले मेरो रोजाइ भएको हो ।

अर्को कुरा, परिवर्तन शास्वत सत्य हो । कसैले पनि परिवर्तन नकार्न सक्दैन । तर, एमालेमा प्रवेश नगर्दा यो परिवर्तनबारे राप्रपाले आत्मसात् गर्न सकेको थिएन ।
अब पदको कुरा, मलाई लाग्छ जीवनमा पदभन्दा  समाजलाई के दिन सक्छु भनेर सोच्नु महत्वपूर्ण हो । परिवर्तनको पक्षमा के गर्न सक्छु, मेरो स्थान के हुन्छ भनेर निक्र्यौल गर्न सक्नु हो । 

त्यसैले मलाई पद पाएँ भन्ने कुराभन्दा पनि बढी अब म के गर्छु भन्ने बढी महत्वपूर्ण छ । फाइदाको कुरा त अब मैले समाजलाई परिवर्तन गर्न चाहने विषयले निर्धारण गर्नेछ । हो, यो पद नपाएको भए देश र समाजका लागि मैले गर्न चाहेको कामको लेखाजोखा चाहिँ कम हुन्थ्यो होला । अब म नोटिस गरिने ठाउँमा भएकाले थप जिम्मेवार हुनेछु, मेरा कामबारे उठ्ने प्रश्नको जवाफ दिन तयार हुनेछु ।

कला क्षेत्रमा रहेर पनि राजनीति गर्नेहरुलाई के भन्नुहुन्छ ?
कला वा सिर्जना भनेको यो ब्रम्हाण्डको सबैभन्दा उत्कृष्ट विषय हो । संसारमा सिर्जना, सोच र कला जस्तो शक्तिशाली केही हुनै सक्दैन ।
अर्कोतिर राजनीतिबारे नराम्रा टिकाटिप्पणी हामी सुनिरहेका हुन्छौं । तर, ठ्याक्कै त्यस्तो पनि होइन । आखिर समाज ‘गाइड’ गर्ने भनेकै सिर्जना र राजनीतिले हो । कला क्षेत्रमा रहेर राजनीति गर्नेहरु अझ बढी जिम्मेवार हुनुपर्छ । त्यो जिम्मेवारी नै समाजका लागि वरदान सावित हुन्छ ।

प्रतिकृया दिनुहोस

व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण 

  बुटवल २५ असोज रुपन्देहीका होटल व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण प्रदान गरिएको छ ।    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

मोतीपुर माविमा विद्यार्थीहरुको समिति पूर्नगठन

बुटवल, २४ जेठ बुटवल उपमहानगरपालिका वडा नं. १७ स्थित मोतीपुर माविमा अतिरिक्त क्रियाकलापका लागि विभिन्न सदनात्मक समितिहरु पुर्नगठन भएका छन ।

रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी

रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी गरिएको छ । न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुभउती यादवले न्यायिक समितिमा