कर्मचारीको क्षमता विकासका लागि भैरहवामा तीन दिने तालिम सुरु
बुटवल, असोज २७
लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौँको समन्वयमा रुपन्देहीको भैरहवामा व्यावसायिक स्किम तथा प्रस्तावना लेखनसम्बन्धी तीन दिने कर्मचारी क्षमता विकास तालिम सुरु भएको छ ।सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले गर्नुभएको हो । उहाँले उद्घाटन कार्यक्रममा परम्परागत उद्योग तथा सीपसँगै नयाँ सीप र प्रविधिमा आधारित उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । .jpg)
सचिव पाण्डेले नयाँ प्रकृतिका व्यवसाय सञ्चालनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योग प्रशासनमा देखिएका कानुनी तथा प्रक्रियागत समस्या समाधानका लागि तालिममा विशेष छलफल गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रमका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक शारदा बस्यालले घरेलु तथा साना उद्योग कार्यालयबाट सञ्चालन गरिएका कार्यक्रममा भोग्नुपरेका समस्या समाधान गर्दै सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कर्मचारीको क्षमता विकास कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
असोज २६ गतेदेखि २८ गते तीन दिन सम्म सञ्चालन हुने तालिममा लुम्बिनी प्रदेश आन्तरिक मामिला,कानुन,उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डे,उद्योग विभागका निर्देशक उर्मिला खतिवडा,विभागका तथ्याकं अधिकृत पुष्पराज सिवाकोटी र उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक शारदा बस्याल बेलवासेले सहजीकरण गर्नु हुनेछ । 
तालिममा उद्योगसम्बन्धी नीति, कानुन तथा कार्यान्वयन प्रक्रिया, उद्योग दर्ता, व्यावसायिक स्किम निर्माण, प्रस्तावना लेखन,उद्योगको उद्देश्य निर्धारण, खर्च तथा एक्जिम कोडसम्बन्धी प्रक्रिया, उद्योग प्रशासनबाट प्रदान गरिने सेवा, सेवा प्रवाह र सूचना प्रदान गर्नेलगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका शाखा अधिकृत केशरी शर्माको स्वागत तथा शाखा अधिकृत लक्ष्मी प्रसाद दाहालको सञ्चालनमा सुरु भएको तालिम कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख,प्रतिनिधि एवं उद्योग तथा वाणिज्य शाखा कर्मचारीहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।





प्रतिकृया दिनुहोस