किशोरकिशोरीमा हुने शारीरिक, मानसिक परिवर्तनबारे अभिभावकलाई जानकारी
देवदह, असोज २८
किशोरकिशोरीमा हुने शारीरिक, मानसिक तथा सामाजिक परिवर्तनबारे अभिभावकलाई जानकारी गराउने उद्देश्यले रुपन्देहीको देवदह नगरपालिका–१२, ढोलबजवामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सिक्टहन स्वास्थ्य चौकीको आयोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको सहयोगमा देवदह नगरपालिका–१२ स्थित प्रगति माध्यमिक विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा किशोरकिशोरीमा आउने शारीरिक, मानसिक, सामाजिक तथा पारिवारिक परिवर्तन, प्रजनन स्वास्थ्य, यौन शिक्षा र लागूऔषध दुव्र्यसनबाट बच्ने उपायलगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख रेशम सुनुवारले किशोरकिशोरीमा आउने विभिन्न परिवर्तनबारे अभिभावकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।कालिका स्वावलम्बन सामाजिक केन्द्र समसारा परियोजनाका टिम लिडर अभिनव चौधरीले किशोरकिशोरीको प्रजनन स्वास्थ्य, यौन तथा लागूऔषध सेवनजस्ता विषयमा सचेतना अभिवृद्धि गरी उनीहरूलाई दुव्र्यसनबाट जोगाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
केरवानी हेल्थ पोस्टका इन्चार्ज तथा प्रशिक्षक काशीराम रेग्मीले किशोरकिशोरीमा आउने परिवर्तन, कानुनी व्यवस्थासम्बन्धी जानकारी तथा बालबालिकाको उचित हेरचाह र संरक्षणमा परिवारका सदस्य तथा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे सहजीकरण गर्नुभएको थियो।परिवार, विद्यालय र साथी समूहमा किशोर अवस्थामा आउने परिवर्तनबारे खुलेर संवाद नहुँदा बालविवाहको जोखिम बढ्न सक्ने निष्कर्ष निकालिएको थियो। अभिभावक तथा किशोरकिशोरीमा पर्याप्त चेतनाको अभाव पनि बालविवाहको एउटा कारण हुन सक्ने औँल्याइएको थियो।
इन्चार्ज रेग्मीका अनुसार किशोरावस्था जिज्ञासा, कौतूहल र नयाँ सम्बन्ध स्थापित गर्ने समय भएकाले अभिभावकले यसलाई किशोरकिशोरीलाई स्वस्थकर बानी र व्यवहार सिकाउने अवसरका रूपमा लिनुपर्छ। यस अवस्थामा किशोरकिशोरीमा शारीरिक, मानसिक, मनोसामाजिक तथा यौनिक परिवर्तन देखिने भएकाले अभिभावकले उनीहरूको भावना बुझेर उचित मार्गदर्शन गर्न आवश्यक हुन्छ।किशोरावस्थामा आफ्नै मूल्य, मान्यता र विचार विकास हुने, साथीहरूसँग गहिरो सम्बन्ध राख्न चाहने, आफ्ना विचारलाई सही ठानेर बहस गर्ने तथा आफूलाई अरूले नबुझेको वा वास्ता नगरेको महसुस गर्ने जस्ता व्यवहार देखिन सक्छन्। त्यसैगरी आफ्नो सौन्दर्य, शारीरिक स्वरूप, उचाइ, मोटोपना वा दुब्लोपनप्रति बढी चिन्तित हुने, मन चञ्चल हुने, छिटो रिसाउने, एक्लै बस्न मन पराउने, स्वतन्त्र हुन खोज्ने तथा विपरीत लिङ्गप्रति आकर्षण बढ्नेजस्ता परिवर्तन पनि देखिन सक्ने इन्चार्ज रेग्मीले बताउनुभयो।
किशोरकिशोरीको शारीरिक वृद्धि तथा विकासमा पोषण, पारिवारिक वातावरण, वंशानुगत गुण र व्यक्तिगत अवस्थाले प्रभाव पार्ने उहाँको भनाइ थियो। यस उमेरमा स्वास्थ्यसम्बन्धी तथ्यपूर्ण र सही जानकारी प्राप्त भए किशोरकिशोरीलाई स्वस्थकर जीवनशैली अपनाउन सहज हुने उहाँले बताउनुभयो।उहाँले किशोरावस्थामा हुने शारीरिक, मनोसामाजिक तथा यौनिक परिवर्तनलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिँदै यस्ता विषयमा परिवार र विद्यालयमा खुलेर छलफल गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमपछि सहभागीका तर्फबाट सिक्टहन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिना खातुनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले किशोरकिशोरीको स्वास्थ्य, सुरक्षा र समग्र विकासका लागि अभिभावकलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो।
देवदह–१२ टोल सुधार समितिका अध्यक्ष दुरमान गुरुङले किशोरकिशोरीमा आउने परिवर्तनबारे जानकारी लिन पाउँदा खुसी लागेको बताउनुभयो। सानै उमेरमा विवाह गर्ने प्रचलन अन्त्य गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उहाँले अभिभावकले घरमै पुगेर लाज नमानी छोराछोरीसँग यस्ता विषयमा खुलेर कुराकानी गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका–१२ का वडाध्यक्ष डेगबहादुर सारू मगरले बालबालिका तथा किशोरकिशोरीमा आउने परिवर्तनबारे सचेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। आफू निर्वाचित भएपछि वडामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न काम गर्दै आएको उहाँको भनाइ थियो।
वडाध्यक्ष सारूले देवदह नगरपालिका–१२ भौगोलिक तथा विकासका दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा रहेको उल्लेख गर्दै नजिकै भन्सार नाका भएकाले लागूऔषध ओसारपसार तथा किशोरकिशोरी कुलतमा फस्ने जोखिमसमेत रहेको औँल्याउनुभयो। यस्तो अवस्थामा अभिभावक, बालबालिका तथा किशोरकिशोरीलाई सचेत बनाउने कार्यक्रमले सकारात्मक योगदान पु¥याउने उहाँले बताउनुभयो।कालिका स्वावलम्बन सामाजिक केन्द्र समसारा परियोजनाका रुपन्देही जिल्ला संयोजक गौमती सुनारले संस्थाले विभिन्न सामाजिक सचेतना तथा समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
सिक्टहन स्वास्थ्य चौकीकी सी.अ.न.मी. देवी विकले सञ्चालन गर्नुभएको कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह, मिल अफिसर मेनुका सिंह, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूको सहभागिता रहेको थियो।





प्रतिकृया दिनुहोस