सडकमा थ्रेसर राख्न र खेतमा पराल जलाउन तिलोत्तमा नगरपालिकाको रोक

सूचनाको अवज्ञा गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी

 

तिलोत्तमा,०८ कात्तिक

तिलोत्तमा नगरपालिकाले सार्वजनिक सडकमा थ्रेसर मेसिन राखेर धान झाँट्ने तथा खेतमा बाँकी रहेका पराल र ठुटा जलाउने कार्यमा पूर्ण रूपमा रोक लगाएको छ।
धान भित्र्याउने मौसम सुरु भएसँगै सार्वजनिक सडक, राजमार्ग तथा सडक किनारमा थ्रेसर प्रयोग गर्ने र खेतमा आगो लगाउने क्रम बढेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्तो रोक लगाएको हो।

नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी सूचनाअनुसार सडकमा थ्रेसर राखेर काम गर्दा उड्ने धुलो र धुवाँले दुर्घटनाको जोखिम बढाउनुका साथै सर्वसाधारण तथा सवारीसाधनको आवागमनमा बाधा पुग्ने गरेको छ।

त्यस्तै, खेतमा पराल जलाउँदा वायु प्रदूषण भई मानव स्वास्थ्यमा असर पर्ने, माटोको उर्वराशक्तिमा ह्रास आउने र वरपरका घरबस्तीमा आगलागीको जोखिम रहने भएकाले रोक लगाइएको नगरपालिकाले जनाएको छ।

सूचनामा सार्वजनिक सडक, फुटपाथ वा सडकको क्षेत्राधिकारभित्र थ्रेसर मेसिन राखेर धान झाँट्ने वा काट्ने कार्य निषेध गरिएको छ भने थ्रेसिङको काम आफ्नै निजी खेत वा सुरक्षित स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ। नगरपालिका भित्र खेतमा बाँकी रहेका पराल, ठुटा वा अन्य कृषिजन्य फोहोरमा आगो लगाउन पनि प्रतिबन्ध लगाइएको छ। पराललाई कम्पोस्ट मल बनाउन, पशु आहारका रूपमा प्रयोग गर्न वा अन्य उपयोगी प्रयोजनमा लगाउन नगरपालिकाले अपिल गरेको छ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिधिभित्र रही सूचना जारी गरिएको नगरपालिकाले उल्लेख गरेको छ।
सूचनाको अवज्ञा गरी सडकमा थ्रेसर प्रयोग गरेको वा खेतमा पराल जलाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
 

प्रतिकृया दिनुहोस
↑