तिलोत्तमा नगरपालिकाद्वारा इप्रका केवलानीलाई विपद् सामाग्री हस्तान्तरण
तिलोत्तमा,१० कात्तिक
इलाका प्रहरी कार्यालय मङ्गलापुर केवलानीलाई पालिकामा हुन सक्ने सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गरिएको छ । बढ्दो विपद्का घटनाबाट नगरबासीलाई सुरक्षित राख्न तिलोत्तमा नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाले विपद्को समयमा अति आवश्यक मानिने १४ प्रकारका विभिन्न सामाग्री एक कार्यक्रमबिच हस्तान्तरण गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले धरै स्थानमा स्रोत साधनको अभावमा जनधनको क्षती भएको उदाहरण स्मरण गर्दै बढ्दो विपद्का घटनाबाट तिलोत्तमा नगरबासीलाई सुरक्षित महशुस गराउन आवश्यक सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
त्यस्तै नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक घटनामा सबैभन्दा पहिला नेपाल प्रहरी नै पुग्ने गरेकोेले नगरले प्रहरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको उल्लेख गर्दै उपलब्ध सामाग्रीको सही सदुपयोग गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मङ्गलापुर केवलानीका सब इन्स्पेक्टर एसपी यादवले स्रोत साधनको अभावले धनजनको क्षतिमा कमी आउने विश्वास व्यक्त गर्दै सामाग्री उपलब्ध गराएको र नगरबासीको धनजनप्रति विशेष चासो दिएकोमा नगरपालिकालाई धन्यवाद दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीको अध्यक्षतामा भएको कार्यक्रममा श्रीले नगरबासीले कुनै पनि विपद्का कारण अनाहकमा क्षति बेहोर्नु पर्ने परिस्थितिको अन्त्य गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका आर्थिक समिति संयोजक गणेश पाठकले विपद् बाजा बजाएर नआउने उल्लेख गर्दै विगतदेखि नै नगरपालिकाले विपद् पूर्वतयारीका कार्यक्रमलाई जोड दिँदै आएको र सोहीअनुरुप यो कार्यक्रम गएिकोमा जोड दिनुभयो ।
कार्यक्रममा नगरका भौतिक पूर्वाधार समिति संयोजक कृष्ण प्रसाद पौडेल,सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी,वडा नं ११ का वडा अध्यक्ष विष्णु बहादुर बराल क्षत्री,नगरसभा सदस्य डिबि थापा ,करहिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष विष्णु प्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।




प्रतिकृया दिनुहोस