सरकारको कार्यशैलीले लोकतन्त्र संकटमा पार्न सक्छ : एमाले महासचिव पोखरेल

बुटवल,कार्तिक १६

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि प्रमुख राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ। उहाँले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ अघि बढिरहेको आरोपसमेत लगाउनुभएको छ।प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको कार्यशैलीले लोकतान्त्रिक व्यवस्था र मुलुकको संवेदनशील भूराजनीतिक अवस्थामाथि जोखिम बढाएको दाबी गर्नुभयो। सरकारको कार्यशैली नसच्चिए मुलुक थप संकटमा फस्न सक्ने उहाँको चेतावनी थियो।

उहाँले विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालयमा विद्यार्थी युनियनका अधिकार नियन्त्रण गर्ने, सञ्चारगृहबाटै पत्रकार पक्राउ गर्ने तथा सञ्चारकर्मीलाई धम्क्याउने काम भइरहेको आरोप लगाउनुभयो। यस्ता गतिविधिले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको उहाँको भनाइ थियो।सरकारले सुशासनको नारा दिए पनि सार्वजनिक खरिद प्रक्रिया र संवैधानिक निकायप्रतिको व्यवहारमा प्रश्न उठेको पोखरेलले बताउनुभयो।

सरकारको कार्यशैलीप्रति सत्तासाझेदार दलभित्रै असन्तुष्टि देखिएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले राजनीतिक दल, संसद् र आफ्नै पार्टीसँग समेत पर्याप्त संवाद नगरेको आरोप लगाउनुभयो। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद नगरी सरकार सञ्चालन गर्ने प्रवृत्ति उचित नभएको उहाँले टिप्पणी गर्नुभयो।

विपद् व्यवस्थापनमा समेत सरकार जिम्मेवार नदेखिएको पोखरेलको आरोप थियो। बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट नागरिक प्रभावित भइरहँदा राज्यको उपस्थिति प्रभावकारी रूपमा अनुभूति हुन नसकेको उहाँले बताउनुभयो। विगतमा भूकम्प, कोभिड महामारी तथा अन्य विपद्का बेला राज्यले खेलेको भूमिकाको तुलनामा वर्तमान सरकार कमजोर देखिएको उहाँको भनाइ थियो।

सरकार गठन भएको सात महिनामै मुलुक गम्भीर आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै पोखरेलले लगानीको वातावरण कमजोर बनेको, पूँजी पलायन र महँगी बढेको तथा विपद्बाट भएको क्षति सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको बताउनुभयो।

त्यस्तै, निजामती कर्मचारीको उमेर हद घटाउने प्रस्तावले कर्मचारी प्रशासन र सुरक्षा निकायमा समेत निराशा बढाउन सक्ने उहाँले उल्लेख गर्नुभयो। महासचिव पोखरेलले लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुलुकको समग्र हितको रक्षाका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष भगवती पाण्डेको अध्यक्षता र उपाध्यक्ष केशब पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।


 

प्रतिकृया दिनुहोस
↑