स्थानीय तहमा युवाको सहभागिता बढाउन सूचकमा आधारित छलफल
भैरहवा,०८ भदौ
स्थानीय तहमा युवाको सहभागिता, बालबालिकाका सवाल तथा उनीहरूका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रभावकारिताबारे सिद्धार्थनगर नगरपालिकामा छलफल गरिएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, युवा समिति रुपन्देहीको आयोजनामा भएको छलफलमा नगर उपप्रमुख उमा अधिकारी ,बाल क्लब तथा बालबालिकाका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक विकास महाशाखा, महिला तथा बालबालिका शाखा, शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
छलफलमा पालिकामा युवाको सहभागिता, बालबालिका तथा महिलालाई लक्षित कार्यक्रम, अपाङ्गता भएका बालबालिकाका लागि गरिएका प्रयास, सीपमूलक तालिम, विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यलगायत विषयमा छलफल भएको थियो। कार्यक्रममा क्लबसँग आवद्ध सञ्जय रानाले पालिकासँगको सहकार्यमा तयार गरिएको मनिटरिङ फ्रेमवर्कका सूचकहरू प्रस्तुत गर्दै नगरपालिकाका कार्यक्रम र उपलब्धिबारे नगर उपप्रमुखसँग छलफल गर्नुभएको थियो।
नगर उपप्रमुख उमा अधिकारी अनुसार सिद्धार्थनगर नगरपालिकाले युवालाई लक्षित गर्दै सीपमूलक तथा रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा सिलाई, कृषि तथा खेतीसम्बन्धी व्यवहारिक सीप सिकाउने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। युवाका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिँदै उहाँले युवाको क्षमता विकास र सहभागितालाई स्थानीय तहले प्राथमिकतामा राखेको बताउनुभयो।
यसैगरी, मनिटरिङ फ्रेमवर्कमा समावेश गरिएका सूचकका आधारमा दुई विद्यालयका बालबालिकासँग समेत छलफल गरिएको थियो। संस्थागततर्फ मुनलाइट माध्यमिक विद्यालय र सामुदायिकतर्फ श्री सूर्यदेव माध्यमिक विद्यालय, भैरहवाका बालबालिकासँग युवाको सहभागिता, विद्यालयमा बालमैत्री वातावरण तथा स्थानीय तहबाट अपेक्षित सहयोगका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्ता छलफलबाट स्थानीय तहमा युवाको वास्तविक सहभागिताको अवस्था पहिचान गर्नुका साथै बालबालिका, महिला तथा अपाङ्गता भएका बालबालिकालाई लक्षित कार्यक्रम प्रभावकारी बनाउन आवश्यक सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुग्नेछ।





प्रतिकृया दिनुहोस