कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आज 

 

काठमाडौँ, १८ असोज 

नेपाली कांग्रेसको १५ औँ  महाधिवेशन आजदेखि सुरू हुँदै छ। काठमाडौँको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ। 

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ।

महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्।  कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए।

त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो। यसपटक भने प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ। यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ।

भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ।

आज उद्घाटन र असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ। त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन हुनेछ।

निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य आउनेछन्। निर्वाचनका लागि काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ। सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा १ हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाउने तयारी छ।

विद्युतीय मेसिनबाट मतदान हुनेछैन। एक जना महाधिवेशन प्रतिनिधिलाई मत दिन कम्तीमा ५० मिनेट लाग्न सक्ने आँकलन छ। केन्द्रीय समितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना मनोनीत गर्नेछन्।

केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र तीन सहमहामन्त्री मनोनीत गर्ने व्यवस्था छ। नयाँ विधानअनुसार प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य रहनेछन् र २३१ सदस्यीय कार्यसमिति बन्नेछ। विगतमा १६८ सदस्यीय कार्यसमिति थियो। यसपालि कांग्रेसले विभिन्न पेसा र क्षेत्रमा रहेकाहरूलाई पनि केन्द्रीय समितिमा ल्याउँदैछ।

प्रतिकृया दिनुहोस
↑