दसैँ खर्च कटाएर समाजसेवी गोपाल रानाले गरे २ लाख १ हजार दान

बुटवल,कार्तिक १

समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ खर्च कटाएर उक्त रकम ज्येष्ठ नागरिकका लागि दान गर्नुभएको छ। रानाले बुटवल–१०, रामनगरस्थित दुर्गा मन्दिरमा स्थापना गरिने ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणका लागि २ लाख १ हजार रुपैयाँ दान गर्नुभएको हो।मन्दिर परिसरमा आयोजित श्रीमद् देवी भागवत ज्ञान महायज्ञमा उहाँले उक्त रकम हस्तान्तरण गर्नुभएको हो। मन्दिर परिसरमा धर्मशाला तथा ज्येष्ठ नागरिक केन्द्र निर्माणार्थ असोज २५ गतेदेखि आयोजित महायज्ञको आइतबार समापनका अवसरमा बोल्दै रानाले मानवीय सेवाको क्षेत्रमा सानो भए पनि योगदान दिने आफ्नो लक्ष्यअनुरूप रकम प्रदान गरिएको बताउनुभयो।

बुटवलको ड्रिम इन्टरनेसनल तथा तिलोत्तमाको ड्रिम गोल्ड रिसोर्टका सञ्चालकसमेत रहनुभएका रानाले सामाजिक क्षेत्रमा योगदान गर्दै आउनुभएको छ। उहाँले बुटवलका एक दर्जनभन्दा बढी विद्यालय, मानव सेवा आश्रम, अपाङ्गता भएका व्यक्तिहरूको आश्रम तथा मठमन्दिरहरूमा अक्षयकोष स्थापना गर्नुभएको छ।रामनगरस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मूल समितिका अध्यक्ष इन्द्रध्वज मल्लले रकम दान गर्ने रानालाई प्रमाणपत्र तथा दोसल्लाले अभिनन्दन गर्नुभएको थियो।

यस क्षेत्रकै पुरानो बस्ती मानिएको रामनगर वि।सं। २०२४ सालमा महेन्द्र राजमार्ग निर्माणका क्रममा विकास भएको थियो। सोही क्रममा स्थानीयवासीबाट मन्दिर स्थापना गरी धार्मिक सद्भाव र एकतालाई अघि बढाउने उद्देश्यले मन्दिरमा नियमित पूजाआजा गरिँदै आएको मल्लले बताउनुभयो।‘सत्कर्म र संस्कार सिकाउने थलोका रूपमा मन्दिर स्थापना भएको हो,’ उहाँले भन्नुभयो।

वि।सं। २०७९ सालमा औपचारिक रूपमा दर्ता गरी मन्दिरलाई व्यवस्थित गर्ने काम आफूहरूले अघि बढाएको उहाँले बताउनुभयो। टाढाटाढाबाट आउने तीर्थालुहरूलाई समेत बास बस्ने व्यवस्था गर्ने गरी पूर्वाधार तयार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।महायज्ञबाट सङ्कलन भएको रकमबाट ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निर्माण गरिने भएकाले उक्त क्षेत्रका ज्येष्ठ नागरिकहरूका लागि भजनकीर्तन र भेटघाट गर्ने थलोका रूपमा विकास हुने महासचिव दिलिपकुमार सुनारले बताउनुभयो।करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा क्रियापुत्री भवन र सामुदायिक भवन निर्माण गरिसकेको छ।

प्रतिकृया दिनुहोस
↑