अवैद्यरूपमा नेपाल भित्र्याइएका ७ लाख बढीका सामान बरामद
रुपन्देही,१३ कार्तिक
रुपन्देही प्रहरीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार २०८३ कात्तिक १२ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा अन्दाजी ७ लाख ६५ हजार ५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।
प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गललामण्डीबाट अन्दाजी १ लाख ९० हजार रुपैयाँ बराबरका विभिन्न किराना सामानसहित सात बोरा सुपरपावर सुर्ती बरामद गरेको जनाएको छ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिका–८ स्थित शिवपुरबाट अन्दाजी २ लाख ५३ हजार रुपैयाँ बराबरका मोटरसाइकल, उल्टन सुटको काँचो कपडा, लेहेङ्गा तथा साडी बरामद गरिएको छ।
यसैगरी, रोहिणी गाउँपालिका–२ स्थित बेहीखालबाट अन्दाजी १ लाख २९ हजार ८ सय रुपैयाँ बराबरका सामान तथा मोटरसाइकलसहित २८ बोइलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिका–८ स्थित शिवनगरबाट अन्दाजी ३२ हजार ४ सय रुपैयाँ बराबरका २७ पिस लेडिज सुट पनि बरामद गरिएको छ।
त्यस्तै, रोहिणी गाउँपालिका–२ स्थित भन्सारचोकबाट अन्दाजी १ लाख ५९ हजार ८ सय ५० रुपैयाँ बराबरका विभिन्न कस्मेटिक सामग्री बरामद गरिएको छ। बरामद सामग्रीमा लिपस्टिक, प्लास्टिकका नङ, १५ प्याकेट रुमाल, लिप ग्लस, मेकअप किट, नेल पोलिस तथा विभिन्न ब्रान्डका कस्मेटिक सामग्री रहेका छन्।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





प्रतिकृया दिनुहोस