भ्रामक प्रचारविरुद्ध प्रहरी प्रधान कार्यालयको चेतावनी
भैरहवा, १३ कार्तिक
नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामाका लागि दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति कडा आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले तथ्यहीन सामग्रीका आधारमा प्रहरी संगठनको नेतृत्वमाथि प्रश्न उठाउने र संस्थाको छवि कमजोर बनाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमा पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने उल्लेख छ । यसले नागरिकको सेवामा समर्पित सुरक्षा संगठनप्रतिको विश्वास, संस्थागत छवि र निष्ठामा असर पार्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक ९डीजीआईजी० अभिनारायण काफ्लेले नेपाल प्रहरी आफ्नो संवैधानिक तथा कानूनी जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानूनी गतिविधिबाट विचलित नभई नागरिकको सुरक्षा र सेवामा निरन्तर क्रियाशील छ । संगठनको नेतृत्वबारे अपुष्ट सूचना सम्प्रेषण गर्दा समग्र प्रहरी संगठनको काम, व्यवसायिकता र विश्वसनीयतामाथि अनावश्यक भ्रम उत्पन्न हुन सक्ने प्रहरीको धारणा छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिवद्ध जिम्मेवार सुरक्षा संगठन भएको उल्लेख गरेको छ । प्रचलित कानूनअनुसारको जिम्मेवारी निर्वाह गरिरहेको संगठनलाई तथ्यहीन प्रचारका आधारमा विवादमा तान्ने वा कमजोर बनाउने प्रयास स्वीकार्य नहुने विज्ञप्तीमा उल्लेख छ ।
प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामाका लागि दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीको सन्दर्भमा सम्बन्धित निकायबाट तथ्य पुष्टि गरेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । समाचार तथा सूचना नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले सो अधिकारको सम्मान गर्दै सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएको छ ।
प्रहरी प्रधान कार्यालयले पत्रकारिताको व्यवसायिक आचारसंहिता पालना गर्न, सूचनाको सत्यता सुनिश्चित गर्न तथा नागरिकप्रति सञ्चारमाध्यमको जिम्मेवारी निर्वाह गर्नसमेत आग्रह गरेको छ । सामाजिक सञ्जालमा प्रकाशित सामग्रीलाई आधिकारिक पुष्टि नगरी साझा गर्दा गलत सूचना फैलिन सक्ने भएकाले अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
विज्ञप्तीमा भ्रामक समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबल र एकताका साथ जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरीका सम्पूर्ण दर्जाका कर्मचारीलाई निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले संगठनका कर्मचारीलाई व्यवसायिक जिम्मेवारीमा केन्द्रित रहन र नागरिकको सुरक्षासम्बन्धी कामलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ ।
प्रहरी संगठनको प्रतिष्ठा, व्यवसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तान्ने प्रयास गर्ने सीमित व्यक्तिहरूविरुद्ध प्रचलित कानूनबमोजिम आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले आम नागरिकलाई प्रमाणित, आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्याउन आग्रह गरेको छ ।





प्रतिकृया दिनुहोस