नक्सा पास गरेरै घरको संरचना निर्माण गर्न जिससको निर्देशन

 

भैरहवा,१५ कार्तिक

जिल्ला समन्वय समिति, रुपन्देहीको आयोजनामा मासिक घुम्ती बैठक सम्मरीमाई गाउँपालिकामा सम्पन्न भएको छ । बैठकमा रुपन्देहीका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी र रुपन्देही प्रहरी प्रमुखको उपस्थिति थियो ।

बैठकमा संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा कार्यान्वयनका लागि प्राप्त हुने सशर्त तथा विशेष अनुदानको बजेट कार्यान्वयन, चाडपर्वका बेला शान्ति सुरक्षा व्यवस्थापन, बजार अनुगमन, धानको पराल जलाउने कार्य रोकथाम, ब्लड बैंकमा देखिएको रगतको अभाव व्यवस्थापनका लागि रक्तदान कार्यक्रम सञ्चालन तथा प्लाष्टिक र भारतीय फूलको प्रयोग निरुत्साहित गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

बैठकमा सहभागी विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले आ–आफ्नो स्थानीय तहको प्रगति विवरण, वर्तमान अवस्था, गतिविधि तथा प्रस्तावित योजनाबारे जानकारी गराएका थिए ।

बैठकका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले घरको नक्सा पास नगरी संरचना निर्माण गर्न नदिन स्थानीय तहलाई आग्रह गर्नुभयो । घरको नक्सा पाससम्बन्धी कार्यविधि नभएका पालिकाले तत्काल कार्यविधि निर्माण गरी नक्सा पास अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो । धानको पराल जलाउने कार्य नरोकिए माटोको उर्वराशक्ति घट्नुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने उहाँको भनाइ थियो ।

‘पराल जलाउँदा माटोको उर्वराशक्ति घट्दै गएको छ । यसले भविष्यमा अन्य बाली उत्पादनमा समेत समस्या निम्त्याउन सक्छ । त्यस्तै, वातावरणीय प्रदूषणले श्वासप्रश्वासमा गम्भीर असर पुर्याउँछ,’ उहाँले भन्नुभयो । भारतको दिल्लीमा देखिएको वायु प्रदूषणको उदाहरण दिँदै चपाईले भविष्यमा उत्पन्न हुन सक्ने गम्भीर स्वास्थ्य समस्याप्रति समयमै सचेत रहन सबै स्थानीय तहलाई आग्रह गर्नुभयो ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आर्थिक वर्षको अन्त्यतिर मात्रै ठेक्कापट्टा तथा बजेट कार्यान्वयनका काम गर्ने प्रवृत्तिले स्थानीय तहको कार्यसम्पादनमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । यस विषयमा उचित जवाफ दिन नसक्दा सरकारप्रति नकारात्मक धारणा विकास भइरहेको उहाँको भनाइ थियो ।

असार मसान्तमा ठेक्कापट्टा, उद्यमशीलता लगायतका कार्यक्रम कार्यान्वयनमा स्थानीय तह व्यस्त हुँदा सर्वसाधारणका अन्य गुनासा सम्बोधन गर्न कठिन हुने र जनताको अपेक्षासमेत पूरा गर्न समस्या हुने उहाँले बताउनुभयो ।

त्यस्तै रसुवा र भोटेकोशी नदीमा आएको बाढीका कारण रुपन्देहीका ९ स्थानीय तहका १९ जना बेपत्ता भएको विषय उल्लेख गर्दै अर्यालले उनीहरूको पहिचान प्रक्रिया छिटो अघि बढाउन आग्रह गर्नुभयो । सार्वजनिक जग्गा अतिक्रमणको विषयमा अदालतले जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई परिपत्र गरिसकेको उल्लेख गर्दै उहाँले त्यसको कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । ‘गैरकानूनी संरचना निर्माण हुन नदिने अधिकार स्थानीय सरकारसँग छ । तर, यस विषयमा पत्राचार हुँदा र अदालतको निर्णय आइसक्दा पनि कार्यान्वयन हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

यस विषयमा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा अन्य सरोकारवाला निकायले जिम्मेवारीबोध गर्दै आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसै गरी रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालित हुँदा स्थानीय तहबाट समेत आवश्यक सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो । चाडपर्वका नाममा अनावश्यक रूपमा चर्को आवाजमा डिजे बजाउने कार्य नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो । डिजे सञ्चालन गर्ने व्यवसाय तथा पसललाई समेत दर्ता प्रक्रियामा ल्याउन उहाँले स्थानीय तहलाई आग्रह गर्नुभयो । त्यस्तै पटाका तथा बिस्फोटक पदार्थको प्रयोग नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले गाउँपालिकाको वर्तमान अवस्था, गतिविधि तथा कार्यप्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस
↑