रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेलकुद सामग्रीसहित शैक्षिक सामग्री वितरण
बुटवल ,कार्तिक १५
रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । गाउँपालिकाले विद्यालयहरूलाई डेस्क–बेन्चसमेत वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै आएको छ । उहाँले विद्यालयहरूले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक विद्यालयहरूलाई आवश्यकताअनुसार पालिकाले नियमित रूपमा सहयोग गर्दै आएको जानकारी दिँदै अध्यक्ष यादवले शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड दिनुभयो ।
पालिकाले विद्यालयहरूमा खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्दै आएको छ । यस्ता सामग्रीको उपलब्धताले शिक्षण तथा सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।





प्रतिकृया दिनुहोस