बुटवलमा २० देखि २२ गतेसम्म ‘दीपावली सडक खाना महोत्सव’ गरिँदै

 

बुटवलमा,१७ कात्तिक

नेपालीको महान पर्व तिहार (दीपावली)को अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’को तयारी गरेको छ । संघले यहि कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित सुक्रपथमा तीन दिने दीपावली सडक खाना महोत्सवको तयारी गरिएको संघका महासचिव वसन्तप्रसाद ढकालले जानकारी दिनुभयो ।

संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले दीपावली सडक खाना महोत्सव सञ्चालन तथा व्यवस्थापन मुल समितिको संयोजकमा संघका अध्यक्ष पौडेललाई जिम्मेवारी प्रदान गरेको हो । त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव ढकाले जानकारी दिनुभयो ।

त्यसैगरी महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टिकाराम वञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दिपक चापागाईलाई स्टल तथा पूर्वाधार व्यवस्थापन तथा सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरु रामबहादुर भण्डारीलाई सुरक्षा व्यवस्थापन, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ व्यवस्थापन, विष्णुप्रसाद उपाध्यायलाई सरसफाइ व्यवस्थापन तथा लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
अपरान्ह ४ देखि राति १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ । महोत्सवमा स्थानीय, विभिन्न जातजातीका संस्कृतिसँग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिने संघले जनाएको छ । यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवद्र्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दीपावलीको सांस्कृतिक र धार्मिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । एउटै स्थलमा खानाका विविध परिकार, तिहारका सामाग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।

तीनदिनसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा कला संस्कृतिको संरक्षण गर्नेगरी देउँसी भैलो प्रतियोगिता, लोकल व्याण्ड तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । सांस्कृतिक कार्यक्रम अन्तर्गत महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रमपश्चात देउँसी भैलो प्रतियोगिता गरिने छ । त्यस्तै दोस्रो दिन लोकल व्याण्डको प्रस्तुति रहनेछ भने तेस्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने पनि संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑