लुम्बिनीमा फूल उत्पादन र कारोबार दुबै बढ्ने अपेक्षा
२७९ मेट्रिक टन उत्पादन,करिब ७ करोडको कारोबार हुने प्रक्षेपण
बुटवल,२१ कार्तिक
यस वर्ष तिहारलाई लक्षित गरी लुम्बिनी प्रदेशमा २७९ मेट्रिक टन फूल उत्पादन हुने भएको छ । सयपत्री, मखमलीलगायत फूल प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार उत्पादित फूलबाट करिब ७ करोड ५६ लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले प्रदेशमा व्यवसायिक फूलखेती बढ्दै गएकाले उत्पादन र कारोबार दुबै बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।
यस वर्ष प्रदेशमा २५९ मेट्रिक टन सयपत्री फूल उत्पादन हुने अनुमान छ । यसबाट ६ करोड ९४ लाख ५३ हजार ५०० रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ । यस्तै, १८.५ मेट्रिक टन मखमली फूल उत्पादन हुने र त्यसबाट करिब ६० लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ । कट फ्लावरअन्तर्गत गुलाबको उत्पादन पनि केही मात्रामा हुने गरेको छ ।
तिहारका बेला प्रदेशको माग धान्न स्थानीय उत्पादनले महत्त्वपूर्ण योगदान गर्ने भए पनि केही फूल अन्य जिल्लामा समेत पठाइने गरेको गैरेले बताउनुभयो । उहाँका अनुसार चितवन र नवलपरासीलगायतका जिल्लाबाट पनि लुम्बिनीमा फूल आउने गरेको छ ।
पछिल्लो समय प्रदेशमा व्यावसायिक फूलखेती विस्तार हुँदै गएकाले विगतको तुलनामा बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था निकै कम भएको गैरेको दावी छ ।
कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार फूलखेतीको क्षेत्रफलका आधारमा कपिलवस्तु पहिलो स्थानमा छ भने उत्पादन र कारोबारमा दाङ अगाडि देखिएको छ । कारोबारका आधारमा दाङपछि बाँके र रुपन्देही छन् ।
कपिलवस्तुमा सबैभन्दा बढी २१ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँबाट ४८ मेट्रिक टन फूल उत्पादन हुने अनुमान छ, तर कारोबारका आधारमा कपिलवस्तु चौथो स्थानमा छ । यहाँ फूल बिक्रीबाट १ करोड ३ लाख २० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
कारोबारमा दाङ पहिलो स्थानमा छ । दाङमा ८ दशमलव ८ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँ ४८ दशमलव ५ मेट्रिक टन फूल उत्पादन हुने र बिक्रीबाट १ करोड ५२ लाख ३० हजार रुपैयाँ कारोबार हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ ।
दोस्रो स्थानमा रहेको बाँकेमा ५ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँ ३८ दशमलव ५ मेट्रिक टन फूल उत्पादन हुने र १ करोड ५१ लाख ७५ हजार रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । दाङ र बाँकेबिच कारोबारको अन्तर जम्मा ५५ हजार रुपैयाँ छ ।
रुपन्देही कारोबारमा तेस्रो स्थानमा छ । यहाँ २ दशमलव ८३ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । क्षेत्रफल कम भए पनि ४२ दशमलव ४५ मेट्रिक टन उत्पादन हुने अनुमान छ । फूल बिक्रीबाट १ करोड ४८ लाख ५७ हजार ५०० रुपैयाँ आम्दानी हुने निर्देशनालयको अनुमान छ ।
कपिलवस्तुपछि पाल्पा पाँचौँ स्थानमा छ । पाल्पामा ५ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ ३९ मेट्रिक टन उत्पादन हुने र ७७ लाख ४० हजार रुपैयाँको कारोबार हुने अनुमान छ ।
नवलपरासी पश्चिममा ३ दशमलव ७५ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ २५ मेट्रिक टन उत्पादन र ६२ लाख ५० हजार रुपैयाँ कारोबार हुने अनुमान छ । त्यस्तै रोल्पामा १ हेक्टरमा खेती गरी ८ मेट्रिक टन उत्पादन र १६ लाख रुपैयाँ कारोबार हुने अनुमान छ । गुल्मीमा ४ दशमलव ७५ हेक्टरमा खेती हुँदा १७ मेट्रिक टन उत्पादन र १४ लाख रुपैयाँ कारोबार हुने अनुमान छ ।
प्यूठानमा ४ दशमलव ५ हेक्टरमा फूलखेती गरिएको छ । त्यहाँ ५ दशमलव ५ मेट्रिक टन उत्पादन र १३ लाख २५ हजार रुपैयाँ कारोबार हुने अनुमान छ । रुकुम पूर्वमा शून्य दशमलव २५ हेक्टरमा खेती गरी २ दशमलव ५ मेट्रिक टन उत्पादन र ६ लाख ५० हजार रुपैयाँ कारोबार हुने अनुमान छ । अर्घाखाँचीमा आधा हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँ ३ मेट्रिक टन उत्पादन र ६ लाख रुपैयाँ कारोबार हुने अनुमान छ । सबैभन्दा कम कारोबार बर्दियामा हुने देखिएको छ । त्यहाँ १ दशमलव २३३ हेक्टरमा फूलखेती गरी २ मेट्रिक टन उत्पादन र ४ लाख ७१ हजार रुपैयाँ कारोबार हुने अनुमान छ ।




प्रतिकृया दिनुहोस