पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रालि द्धारा सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण

बुटवल 

यातायात व्यवसायीबीचको एकता र सामूहिक लगानीको उदाहरण बनेको पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रालिले आफ्ना सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गरेको छ।पश्चिम नेपालका ५० जना बस व्यवसायीको साझा लगानीमा सञ्चालित कम्पनीले दोस्रो वार्षिक साधारणसभाको अवसरमा लाभांश वितरण गरेको हो। दीपावलीअन्तर्गत धनतेरसको अवसर पारेर आयोजित साधारणसभा तथा सम्मान कार्यक्रममा सेयर सदस्यलाई लाभांशसँगै तामाको अम्खोरा र मिठाईसमेत प्रदान गरिएको थियो।

सोही अवसरमा बुटवल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं कम्पनीका सल्लाहकार नरिश्वर शर्मा पौडेललाई सम्मान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि पौडेलले बुटवललाई आधुनिक औद्योगिक तथा व्यावसायिक सहरका रूपमा विकास गर्न यातायात व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। यातायात क्षेत्रका समस्या समाधान र व्यवसाय प्रवर्द्धनका लागि उद्योग वाणिज्य संघले सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पार्किङ व्यवस्थापनलगायतका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको विकास र भौतिक पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।कम्पनीका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीको हकहित संरक्षण र व्यावसायिक समृद्धिका लागि सामूहिक लगानीको अवधारणासहित कम्पनी स्थापना गरिएको बताउनुभयो। यातायात व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने अन्य व्यवसायसमेत क्रमशः विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण र व्यवसाय प्रवर्द्धनका गतिविधिलाई एकीकृत रूपमा अघि बढाइएको बताउँदै उहाँले यातायात व्यवसायमा देखिएका चुनौती समाधान गर्न व्यवसायीबीच सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष खरेलले यात्रुमैत्री यातायात सेवा सञ्चालनलाई कम्पनीले प्राथमिकतामा राखेको बताउनुभयो। समयअनुसार व्यवसाय सञ्चालन गर्न नयाँ प्रविधि र व्यवस्थापकीय सुधारमा समेत जोड दिइएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा कम्पनीका सञ्चालक नारायण घिमिरे, जीवन बन्जाडे, मोहन पीएस, कार्यालय प्रमुख कृष्णप्रसाद भट्टराई तथा भलाई कोषका सचिव बिजेश न्यौपानेलगायतले यातायात क्षेत्रका विभिन्न समस्याबारे धारणा राख्नुभएको थियो। उहाँहरूले व्यवस्थित पार्किङ, सहज बिमा सुविधा, सहकारीको प्रभावकारिता र व्यवसायीबीच एकताको आवश्यकतामाथि जोड दिनुभयो। ५० जना बस व्यवसायीको साझा लगानीमा स्थापित कम्पनीले यातायात क्षेत्रसँग सम्बन्धित व्यवसायलाई विविधीकरण गर्दै व्यावसायिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑