नेपाली साहित्यका महाकवि देवकोटाको जन्म जयन्ती मनाइँदै
काठमाडौँ,२२ कार्तिक
नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदै छ । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतका विभिन्न भूभाग र नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।
विसं १९६६ साल कात्तिकको औँशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साइलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुभएको थियो । तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुनुहुन्थ्यो ।
देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ ।
विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उहाँलाई चर्चित भने नेपाली साहित्यले गरायो । नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि बनाउनुभएको हो । काठमाडौँमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उहाँलाई लक्ष्मीको प्रसादको रुपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेलसमेत पर्नुभएको थियो । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बन्नुभएको थियो ।




प्रतिकृया दिनुहोस