विगतबाट सिकेर मेहनत गर्नुपर्ने अवस्था आएको छ : कांग्रेस उपसभापति भण्डारी

 

बुटवल,२२ कात्तिक

नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले सरकारले जनताको काम गर्नुभन्दा भ्रम फैलाउने र अनावश्यक गतिविधिमा समय खर्चिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारका गतिविधिमा गल्ती भएको भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने भन्दै काम प्रभावित हुने गरी आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गर्नुभयो । युवाको ऊर्जा र क्षमतालाई विकास निर्माणमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

कांग्रेस सभापति गगन थापाबारे बोल्दै भण्डारीले आफूले उहाँलाई लामो समयदेखि चिनेको उल्लेख गर्नुभयो । थापालाई कांग्रेसका कुनै नेताले कारबाही गर्नुपर्ने काम गरेको भए कानुनी प्रक्रियाबाट कारबाही गरेर देखाउन उहाँले सरकारलाई चुनौति दिनुभयो ।प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराउनु अहिलेको राजनीतिक परिस्थितिको एउटा कारण भएको भण्डारीले बताउनुभयो । त्यसबेला आफूले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूलाई यस विषयमा सचेत गराएको उहाँको भनाइ थियो । पद र व्यक्तिगत महत्वाकांक्षाका कारण नेतृत्वले समयमै आवश्यक निर्णय गर्न नसक्दा त्यसको परिणाम देशले भोग्नुपरेको उहाँले बताउनुभयो ।

भण्डारीले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न नहुने धारणा राख्नुभयो । लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलको योगदान रहेको उल्लेख गर्दै उहाँले नयाँ नेतृत्वले त्यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
↑