सकियो बुटवल दीपावली सडक खाना महोत्सव

बुटवल,कार्तिक २३
बुटवलको सुख्खानगरमा सञ्चालन गरिएको दीपावली सडक खाना महोत्सव–२०८३ सकिएको छ । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सव आईतबार राती सकिएको हो । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा आयोजना गरिएको महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५५ वटा स्टल राखिएको थियो । 

महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री बिक्री गरिएको थियो । 
स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवद्र्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको र बुटवलबासीको उत्साहजनक सहभागिताले आफूहरुलाई थप हौसला मिलेको संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले बताउनुभयो । महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रम समापनमा संघले शुक्र टोबिकास समिति र बुटवल ८ वडा कार्यालयलाई सम्मान गरेको छ । संघले महोत्सव सम्पन्न गर्नका लागि साथ सहयोग गरेकोमा सम्मान गरेको हो । 

खुमनले नचाए दर्शक 

महोत्सवको अन्तिम दिन आइतबार साँझ दोहोरी गायक खुमन अधिकारीले महोत्सवका दर्शकलाई भरपुर नचाए । स्टेजबाट उनले गाउँदा दर्शक विर्घाबाट संगै गाउने, नाच्ने र हुटिङ् गर्नेले शुक्रपथ मात्रै होईन सिंगो बुटवल उचालिएको थियो । उहाँले गाएका भिर्ने झोलामा, अझैपनी लगन आछैन लगायतका थुप्रै गित गाएका थिए । त्यसैगरी पुरुषोत्तम भण्डारी (पुर्खे बा)को थुप्रै गित गाएर भरपुर मनोरञ्जन प्रदान गर्नुभयो । महोत्सवको पहिलो दिन कात्तिक २० गते महोत्सवको उद्घाटनसंगै स्थानीय ब्यान्डको प्रस्तुति रहेको थियो भने दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको प्रचारप्रसार संयोजक गणेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । 

संघको कार्यसमितिलाई शुक्रपथको सम्मान 

त्यसै अवसरमा शुक्र टोलबिकास समितिले बुटवल उद्योग वाणिज्य संघको सिंगो कार्यसमितिलाई सम्मान गरेको छ । बुटवल उद्योग वाणिज्य संङको हालै सम्पन्न अधिवेशनबाट नरिश्वर शर्मा पौडेलको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई शुक्र टोलबिकास समितिले खादा मालासहित सम्मान गरेको हो ।
 


 

प्रतिकृया दिनुहोस
↑