एमालेको राष्ट्रिय भेला स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुने

काठमाडौं,कार्तिक ३०

नेकपा एमालेको राष्ट्रिय भेला आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुने भएको छ। भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिहरूको सहभागिता रहने भएको छ।पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले आगामी स्थानीय तहको निर्वाचनको तयारी गर्नु भेलाको मुख्य लक्ष्य रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्ने, पार्टीका निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता कायम गर्ने तथा वैचारिक र सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको छ। साथै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ।

भेलामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसहित कुल ३ हजार ४१४ जनाको सहभागिता रहने आचार्यले जानकारी दिनुभयो।भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे धारणा राख्नुहुनेछ। उहाँले पार्टीका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामसहित वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्नुहुने कार्यक्रम तय भएको छ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक अवस्था र पार्टीका कार्यभारका विषयमा विशेष सम्बोधन गर्नुहुनेछ। भेलामा मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्त्वपूर्ण कार्यपत्रसमेत प्रस्तुत गरिनेछ।भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षाबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।

त्यसैगरी, महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा आगामी स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।राष्ट्रिय भेलामा सहभागी हुने सबैले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी आफ्ना सुझाव अनिवार्य रूपमा लिखितरूपमा प्रस्तुत गर्नुपर्ने प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो।

प्रतिकृया दिनुहोस
↑