वरिष्ठ साहित्यकार कृष्णप्रसाद कोइरालालाई माधव–निर्मला मास्के साहित्य पुरस्कार
बुटवल ,मंसिर ५
वरिष्ठ साहित्यकार कृष्णप्रसाद कोइराला माधव–निर्मला मास्के साहित्य पुरस्कार २०८१ बाट सम्मानित हुनुभएको छ ।विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा कोइरालालाई नगद २५ हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिएको हो ।महासंघको २७५औँ नियमित सत्सङ्ग तथा भजनकीर्तन कार्यक्रमका अवसरमा मंसिर २ गते नवजागृति पुस्तकालयको मिनिहलमा आयोजित कार्यक्रममा विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा। बेनबहादुर पौडेल क्षेत्रीले कोइरालालाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेल क्षेत्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै सम्मानित साहित्यकार कोइरालालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला समितिका पदाधिकारीले भजनकीर्तन प्रस्तुत गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । महिला समितिका महासचिव सुजिता शेरचनले सहभागीलाई स्वागत गर्दै वैदिक प्रार्थना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आनन्दभगत श्रेष्ठले माधव–निर्मला मास्केको योगदानबारे जानकारी गराउनुभएको थियो भने प्रा. डा हिरण्यलाल ज्ञवालीले महाकवि देवकोटा तथा सम्मानित व्यक्तित्व कृष्णप्रसाद कोइरालाको जीवनी र साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो ।सम्मानित व्यक्तित्व कोइरालाले कविता वाचन गर्दै पुरस्कार प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्नुभयो । प्रा. डा बाबुराम ज्ञवालीले श्रीमद्भागवत गीताको सातौ अध्यायको व्याख्या गर्दै यसलाई अनुसरण गर्न सहभागीलाई अनुरोध गर्नु भयो ।
विश्व हिन्दु महासंघका केन्द्रीय सचिव पुनाराम पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव उर्मिला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको समापन अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।यसैबीच, नवजागृति बुलेटिनको १५३औँ अंक समेत विमोचन गरिएको थियो ।
.png)





प्रतिकृया दिनुहोस