जितेश्वरी दुर्गा मन्दिरमा भविष्य पुराण धान्याञ्चल महायज्ञ

बुटवल, माघ २५

देशमा शान्ति स्थापना, विश्व शान्तिको कामना तथा मानव कल्याणका लागि बुटवल–१३ स्थित जितेश्वरी दुर्गा मन्दिरमा भविष्य पुराण धान्याञ्चल महायज्ञ सुरु भएको छ । जय महाकाल युवा समुह रुपन्देही र उर्भर भूमि नेपालको आयोजना तथा जितेश्वरी दुर्गा मन्दिर व्यवस्थापन संस्थाको सह–आयोजनामा आजदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । 

आयोजनकले आईतबार पत्रकार सम्मेलन गरि महायज्ञको बारेमा जानकारी गराएका हुन् । जितेश्वरी दुर्गा मन्दिर व्यवस्थापन संस्थाका अध्यक्ष बालकृष्ण गैरेका अनुसार वैदिक सनातन धर्मको संरक्षण, पितृमुक्ति तथा विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा श्रीमद्भागवत विराट ज्ञान १०८ महायज्ञ तथा १८ पुराण वाचनसमेत हुने उहाँले बताउनु भयो । 

महायज्ञको शुभारम्भका अवसरमा ६ सय केजी तामाबाट निर्माण गरिएको आठ फिट अग्लो शिव पार्वतीको ताम्र मूर्तिलाई विराजमान गराउँदै कलश यात्रासहित धार्मिक विधिअनुसार कार्यक्रम थालिएको हो । आज माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने महायज्ञ अवधिभर दैनिक पूजापाठ, हवन, पाठ पारायण, आरती, कथा वाचन, भजन–कीर्तन, सम्मान कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिहरू गरिने आयोजकले जनाएको छ । महायज्ञको पहिलो दिन आज शोभा कलश यात्रा गरिएको उर्भर भूमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले जानकारी गराउनु भयो । 

त्यस्तै जय महाकाल युवा समुह रुपन्देहीले भोकालाई भोजन र प्यासीलाई पानीको नारासहित काम गर्दै आएको र त्यसका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञमा सहकार्य गरिएको अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी गराउनु भयो । उहाँले धार्मिक कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस