भानु जयन्तीमा वरिष्ठ साहित्यकार झपेन्द्र जिसी सम्मानित
बुटवल,साउन १०
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा विश्व हिन्दु महासंघ नेपाल रुपन्देही, नवजागृति पुस्तकालय बुटवल सहित चार संस्थाको संयुक्त आयोजनामा शनिबार बुटवलस्थित मिनीहलमा विशेष साहित्यिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता तथा कार्यालय सचिव उर्मिला श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै लेखन, सम्पादन तथा साहित्यिक अभियानमार्फत महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ साहित्यकार झपेन्द्र जिसीलाई भानुभक्त पुरस्कार बाट सम्मान गरिएको हो ।
जिसीले अमर उजिर नाटक, लोककथा, कर्खा गीत, तीज पर्वको सामाजिक अध्ययन, फागु संस्कृति लगायतका कृतिमार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ। कार्यक्रममा प्रा. डा. बाबुराम ज्ञवालीले श्रीमद्भागवत गीताको व्याख्या प्रस्तुत गर्नुभएको थियो । यस्तै लुम्बिनि प्रदेश सभा सदस्य नेत्रप्रसाद पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै आदिकवि भानुभक्तको योगदान नेपाली भाषा र राष्ट्रिय पहिचानका लागि सदैव प्रेरणादायी रहने बताउनुभयो।
महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागत तथा महासचिव सुजिता शेरचनले वैदिक प्रार्थना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा लेखक ऋषि आजाद, साहित्यकार, धर्मप्रेमी, बुद्धिजीवी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस अवसरमा ‘नवजागृति बुलेटिन’ अंक-१४४ को समेत विमोचन गरिएको आयोजकले जनाएको छ। कार्यक्रम सयोजक कृष्ण प्रसाद कोइरालाले भानुभक्त आचार्य र सम्मानित व्यक्तिको जीवनी प्रस्तुत गर्नुभएको कार्यक्रमको समापन अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले गर्नु भएको हो । नियमित सत्सङ्ग, भजन–कीर्तन समेत गरिएको कार्यक्रममा अमृतलाल श्रेष्ठले रामायण वाचन गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस