ग्रामीण विकास बैंक (लघुवित्त वित्तीय संस्था)को वार्षिक उत्सव
उत्कृष्ठ शाखा र ग्राहक सदस्यहरु पुरस्कृत
बुटवल,३१ साउन
नेपालमा गरिबी निवारण गर्ने उद्देश्यसहित तिन दशकअघि स्थापना भएको ग्रामीण विकास बैंक (लघुवित्त वित्तीय संस्था लि.) को वार्षिक उत्सव समारोह—२०८३ बुटवलमा सम्पन्न भएको छ । देशभर ५७ जिल्लामा १९४ शाखा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको सो बैंकको वार्षिक उत्सव समारोहमा १ सय ९४ जना उत्कृष्ठ ग्राहक सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । बैंकका अध्यक्ष डा.नहकुल केसी, कार्यकारी प्रमुख श्यामकुमार कटुवाल लगायतले उनीहरुलाई नगद रु. १० हजारसहित पुरस्कृत तथा सम्मान गर्नुभएको हो ।
यसैगरि शाखा कार्यालयहरु मध्ये बैंकको कार्य सम्पादन मूल्यांकनका आधारमा लालमटिया दाङ्ग प्रथम भै उत्कृष्ठ शाखा बन्न सफल भएको छ । ईनरुवा शाखा सुनसरी दोश्रो र सेमलार शाखा रुपन्देही तेश्रो बन्न सफल भएका थिए । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विसं २०५१ सालमा क्षेत्रीयस्तरको ग्रामीण विकास बैंकबाट शुरु भएको यात्रा विसं २०७१ सालमा ५ वटा क्षेत्रीयस्तरका बैंकहरु गाभिएर राष्ट्रिय स्तरको नेपाल ग्रामीण विकास बैंक बनेको थियो । यस्तै १ वर्षअघि समाज विकास बैंकसँग मर्जभै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बनेको हो ।
उत्कृष्ठ शाखा तथा उत्कृष्ठ ग्राहकहरुलाई पुरस्कार प्रदान गर्दै संचालक समितिका अध्यक्ष डा.नहकुल केसीले नेपालको ग्रामीण क्षेत्रबाट गरिबी निवारण गर्नु बैंकको मूल उद्देश्य रहेकोले सरकार, बैंकका संचालक, कर्मचारी वर्ग र ग्राहक सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । नेपालको वित्तीय समावेशीकरण, गरिबी न्यूनीकरण र महिला सशक्तीकरणको लागि महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै कर्जाको उचित उपयोग, वित्तीय साक्षरता, उद्यमशीलता विकास र ऋणीको क्षमता अभिवृद्धिमा थप ध्यान दिन आवश्यक रहेको उहाँले बताउनु भयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले ग्रामीण क्षेत्रका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा जोड्दै अघि बढ्न सके ग्रामीण विकास लघुवित्तले आर्थिक तथा सामाजिक रूपान्तरणमा अझ प्रभावकारी योगदान पु¥याउन सकिने बताउनु भयो । संस्थाका अधिकृत मधुसुदन पोख्रेलको संचालनमा भएको सो कार्यक्रममा संस्थाका संचालक समिति सदस्य अच्यूत गौतम, आरएसडिसि लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख ध्रुवकुमार पौडेललगाएतले ग्रामीण क्षेत्रमा लघुवित्तमार्फत आयआर्जन र रोजगारीका अवसर बढाउन ग्रामीण विकास बैंकहरूको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।
आर्थिक वर्ष २०८२ असार मसान्तसम्म कूल ८४ हजार १ सय १२ महिला र ८ हजार ७ सय ८४ गरि जम्मा ९२ हजार ८ सय ९६ ग्राहक संख्या रहेको सो बैंकले १५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ६७ लाख १२ हजार ६ सय ८१ रुपैयाँ अपरिष्कृत मुनाफा आर्जन गर्न सफल भएको सो संस्थाका नायव कार्यकारी प्रमुख दिपक पाण्डेले बताउनुभयो । यसअघि वार्षिक उत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा सुस्तःमनस्थिती बाल विद्या मन्दिरमा आश्रित बालबालिकालाई पोशाक वितरण गरिएको उहाँले बताउनुभयो ।





प्रतिकृया दिनुहोस