बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य पहिचान सम्बन्धी स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम

 

बुटवल, असोज १३

बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य समस्या पहिचान, प्राथमिक उपचार र आवश्यक सेवाका लागि रेफरल गर्ने सीप विकास गर्न रुपन्देहीका स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरिएको छ । सिविन नेपालको आयोजनामा भैरहवामा असोज ८ गतेदेखि १२ गतेसम्म सञ्चालित ‘एमएच ग्याप मोडेल थ्री’ तालिम सोमबार सम्पन्न भएको हो । सिविन नेपालद्वारा सञ्चालित ‘मेन्टल हेल्थ म्याटर्स’ परियोजनाअन्तर्गत आयोजित तालिममा रुपन्देहीका विभिन्न स्थानीय तह तथा अस्पतालका २० जना स्वास्थ्यकर्मी सहभागी थिए ।

तालिममा बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य अवस्थाको पहिचान, प्राथमिक उपचार तथा आवश्यक उपचारका लागि रेफरल गर्ने प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको प्रशिक्षक मनोचिकित्सक डा. विनोद पौडेलले बताउनुभयो । मनोरोग विशेषज्ञ डा. विक्रम काफ्ले र मनोचिकित्सक डा. विनोद पौडेलले सहजीकरण गरेको तालिममा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार, चिन्ताविकार, डिप्रेसन, लागुऔषध दुव्र्यसन तथा गम्भीर मानसिक स्वास्थ्य समस्या भएका बालबालिका, किशोरकिशोरी र अन्य व्यक्तिको पहिचान तथा प्राथमिक उपचारका विषयमा अभ्याससहित प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले मानसिक स्वास्थ्य समस्यालाई अझै पनि समुदायमा लुकाउने र नकारात्मक रूपमा हेर्ने प्रवृत्ति रहेको बताउनुभयो । मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान, उपचार र समाधानका लागि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउदै उहाँले विद्यालयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउन सिद्धार्थनगर नगरपालिकाले सिविन नेपालसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रशिक्षक डा. विक्रम काफ्लेले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । मानसिक स्वास्थ्य समस्या पहिचान भएका व्यक्तिलाई आवश्यक उपचार तथा सेवासम्म पहुँच पुर्‍याउन स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।सहभागी ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले पालिकाले मानसिक स्वास्थ्य रोकथाम तथा प्रवद्र्धनका लागि सञ्चालन गर्ने कार्यक्रममा तालिमबाट प्राप्त ज्ञानलाई समावेश गर्ने बताउनुभयो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालकी डा. ममता श्रेष्ठले तालिमले आफूले यसअघि प्रदान गर्दै आएको सेवाका क्रममा देखिएका केही अपूर्णता पहिचान गर्न सहयोग गरेको बताउनुभयो । तालिमबाट सिकेका विषयलाई सेवामा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्दता  जनाउनु भयो ।तालिममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मी सहभागी थिए ।

समापन कार्यक्रम सिविन नेपाल बाल हेल्पलाइन रुपन्देहीका प्रमुख विष्णु माया पौडेलको अध्यक्षता तथा मनोपरामर्शकर्ता फूलमाया पासवानको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
↑