सेवा प्रदायक संस्थासँग किशोरीको भेटघाट, सहज सेवा पाउने प्रतिबद्धता

बुटवल, असोज १६,  

किशोरीहरूलाई विभिन्न सेवा प्रदायक संस्थाको सेवामा पहुँच बढाउने उद्देश्यले  सेवा प्रदायक संस्था र किशोरीबीच भेटघाट कार्यक्रम  सम्पन्न भएको छ । किडाशाको आर्थिक सहयोगमा सेतो गुराँस बाल बिकास सेवाद्वारा संचालित   ‘जीवनका लागि सिकाइ परियोजना’ अन्तर्गत सिकाइ केन्द्रमा आबद्ध किशोरीहरूलाई सेवा प्रदायक संस्थासँग प्रत्यक्ष भेट गराइएको हो।

परियोजनामार्फत विद्यालयबाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका देवदह नगरपालिका वडा नं १, ११,१२ सञ्चालित सिकाइ केन्द्र मा सहभागि १५ वटा समूहका किशोरीहरु र बुटवल उपमहानगरपालिका वडा नं ११ र १२ मा सञ्चालित ३ वटा समूह गरी १८ वटा किशोरी समूहका २४३ जना किशोरीहरूले सम्बन्धित वडाका वडा कार्यालय,  स्वास्थ्य  केन्द्र,  प्रहरी कार्यालय प्रत्यक्ष अवलोकन गरी सेवाको बारेमा जानकारी प्राप्त संगै  आफ्ना समस्या तथा जिज्ञासा राखेका थिए । किशोरीहरुले आगामी दिनमा सहज रुपमा सेवा लिन सकुन  भन्ने उद्देश्यले सेवा प्रदायक संस्थाहरुमा वयक्तिकरण भेटघाट कार्यक्रम राखिएको  परियोजना संयोजक डालिमाया थापाले जानकारी दिनु भयो ।
किशोरीहरूले बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, वडा सचिव रमाकान्त आचार्य, वडा प्रहरी कार्यालयका प्रहरी हवल्दार भरतकुमार गुरुङ र सहरी स्वास्थ्य केन्द्र बुटवल–११ का प्रमुख युवराज शर्मासँग कार्यालयमा प्रत्यक्ष भेट गरी छलफल गरेका थिए।वडा अध्यक्ष क्षेत्रीले किशोरीहरू आफैं सचेत हुँदै अरू किशोरीलाई समेत सचेत बनाउन आग्रह गर्दै वडाबाट उपलब्ध हुने सेवामा किशोरीहरूको पहुँच सहज बनाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।

वडा सचिव आचार्यले वडाबाट किशोरी तथा बालबालिकाका लागि उपलब्ध सेवाहरू र ती सेवा लिन आवश्यक प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँले किशोरीका आवश्यकता सम्बोधन गर्न वडाबाट गर्न सकिने काममा सहजीकरण गर्ने समेत बताउनुभयो। वडा प्रहरी कार्यालयका प्रहरी हवल्दार गुरुङले हिंसा वा अन्य समस्या परे जुनसुकै बेला प्रहरीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँले बालविवाह रोक्न किशोरी स्वयं सचेत हुनुपर्ने भन्दै आवश्यक सहयोगका लागि प्रहरी सदैव तयार रहेको बताउनुभयो। सहरी स्वास्थ्य केन्द्रका प्रमुख युवराज शर्माले किशोरी अवस्थामा देखिने प्रजनन स्वास्थ्यलगायत स्वास्थ्यसम्बन्धी समस्या भए स्वास्थ्य केन्द्रमा आएर सेवा लिन आग्रह गर्नुभयो। उहाँले किशोरीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘जीवनका लागि सिकाइ परियोजना’ सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुँनेछ । परियोजनामार्फत किशोरीहरूलाई जीवन उपयोगी सीप, सकारात्मक सम्बन्ध विकास, समस्या समाधान, किशोरावस्थाका चुनौती र त्यसको व्यवस्थापन, स्वस्थ व्यवहार तथा खानपान, कुलतबाट जोगिने उपाय र प्रजनन स्वास्थ्यलगायत विषयमा सिकाइ केन्द्रमार्फत प्रशिक्षण दिदै आएको आयोजक संस्थाले बताएको छ ।

प्रतिकृया दिनुहोस
↑