रुपन्देहीमा प्रजनन स्वास्थ्य सुधारका लागि समन्वयमा जोड
बुटवल, असोज १५
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ। बैठकमा आर्थिक वर्ष २०८२/८३ मा प्रजनन स्वास्थ्य क्षेत्रमा भएका कार्यक्रमको प्रगति, चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम तथा साझेदार संस्थासँगको सहकार्यका विषयमा छलफल गरिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आर्थिक सहयोगमा भएको बैठकमा स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स दीपा खड्काले रुपन्देहीको प्रजनन स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा रुपन्देहीका ११ हजार ४४४ किशोरीको रक्तअल्पता परीक्षण गर्दा ४ हजार ३२१ जनामा रक्तअल्पताको समस्या देखिएको छ। किशोरकिशोरी उमेरमै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना र सेवामा पहुँच बढाउनुपर्ने सहभागीहरूले बताएका छन्।यस्तै, रुपन्देहीमा एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गराएका महिलामध्ये १४ जनाको मातृ मृत्यु भएको तथ्यांक प्रस्तुत गरिएको थियो। असुरक्षित गर्भपतन, २० वर्षभन्दा कम उमेरमा हुने गर्भधारण तथा सुत्केरी, प्रजनन रुग्णता लगायतका क्षेत्रमा समेत सुधार आवश्यक रहेको बैठकमा औंल्याइएको थियो।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले प्रजनन स्वास्थ्य समन्वय समितिको काम, कर्तव्य, अधिकार, योजना तथा सरोकारवालासँगको सहकार्यबाट प्राप्त हुने उपलब्धिबारे जानकारी गराउँदै प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थासँग स्वास्थ्य कार्यालयले निरन्तर सहकार्य गर्ने बताउनुभयो।बैठकमा कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले संस्थाको परिचय तथा सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँले संस्थाले ‘समसारा’ परियोजनामार्फत रुपन्देही, कपिलवस्तु र नवलपरासीमा किशोरकिशोरीको प्रजनन स्वास्थ्य तथा महिला हिंसा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले जिल्लामा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच र महिलाको अधिकार सुनिश्चित गर्न समितिको तर्फबाट समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।बैठकमा भीम अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। शैलाजा घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी, सिद्धार्थनगर नगरपालिका–९ का कार्यवाहक वडा अध्यक्ष बसन्त भट्टराई, नेपाल परिवार नियोजन रुपन्देहीका प्रमुख शोभाकान्त न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका हिराचन्द नेपाललगायतले प्रजनन स्वास्थ्य सुदृढीकरणका लागि बृहत्तर यौनिकता शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेको सञ्चालनमा भएको बैठकले जिल्लामा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाबीच समन्वय र सहकार्य गर्दै स्वास्थ्य कार्यालयले अघि सारेको वार्षिक कार्ययोजनामा संयुक्त रूपमा काम गर्ने निर्णय गरेको छ।

.jpeg)



प्रतिकृया दिनुहोस