युवा उद्यमीसँग सहकार्यले निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने विश्वास

बुटवल, असोज १९

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले युवा उद्यमीसँग सहकार्य र समन्वय गरेर अघि बढ्दा निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने बताउनुभएको छ। उहाँले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र सिर्जनशीलतालाई स्थापित व्यावसायिक संस्थाको अनुभवसँग जोड्न सके आर्थिक विकासमा थप योगदान पुग्ने बताउनुभएको हो।नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको नवनियुक्त समितिलाई नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो।

पोखरेलले सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष विकास पाण्डेय नेतृत्वको समितिलाई सफल कार्यकालको शुभकामना दिँदै युवा उद्यमीका मुद्दा र निजी क्षेत्रका साझा सवालमा चेम्बर सहकार्य गर्न तयार रहेको बताउनुभयो। नयाँ पुस्ताका उद्यमीलाई उद्यमशीलता, लगानी र रोजगारी सिर्जनाका क्षेत्रमा अघि बढाउन स्थापित व्यावसायिक संस्थाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

“युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ,” अध्यक्ष पोखरेलले भन्नुभयो, “नयाँ पुस्तासँग नयाँ सोच र ऊर्जा छ। त्यसलाई संस्थागत अनुभवसँग जोडेर अघि बढाउन सके निजी क्षेत्रको विकासमा थप उपलब्धि हासिल गर्न सकिन्छ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपी कडेलले युवा उद्यमीको सक्रियता र नयाँ पुस्ताको नेतृत्वले निजी क्षेत्रलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले युवा उद्यमीका लागि व्यवसाय विस्तार तथा नयाँ अवसर सिर्जना गर्न निजी क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, सीएनआईवाईईएफ लुम्बिनीका निवर्तमान अध्यक्ष राजन कसजुले नयाँ नेतृत्वले युवा उद्यमीका साझा मुद्दालाई प्राथमिकतामा राख्दै मञ्चलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीएनआईवाईईएफले युवा उद्यमीलाई एकताबद्ध गर्दै उद्यमशीलता प्रवद्र्धन र निजी क्षेत्रको विकासमा निरन्तर भूमिका खेल्दै आएको बताउनुभयो।

कार्यक्रममा सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष विकास पाण्डेयसहित समितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले बधाई तथा सम्मान गरेको थियो।कार्यक्रममा चेम्बर र सीएनआईवाईईएफबीच युवा उद्यमशीलताको विकास, निजी क्षेत्रका साझा मुद्दा तथा लुम्बिनी प्रदेशको आर्थिक विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

प्रतिकृया दिनुहोस
↑