प्रजनन स्वास्थ्यमा पुरुषको भूमिका महत्वपूर्ण : मुस्लिम समुदायमा बढ्दै चेतना 

भैरहवा,असोज १९
महिलाहरू मात्रै सहभागी भएको कार्यक्रम त हामीले धेरैपटक देखेका छौँ। तर, पुरुषहरू मात्रै सहभागी भएको कार्यक्रम भने कमै देख्न पाइन्छ। यस्तै एउटा कार्यक्रममा सहभागी हुने र केही समय पुरुषहरूकै बीचमा बसेर उनीहरूका कुरा सुन्ने अवसर मिल्यो।

कार्यक्रमको विषय थियो— ‘प्रजनन स्वास्थ्यमा पुरुषको भूमिका’। कार्यक्रममा रूपन्देहीका १६ वटा पालिकाबाट मुस्लिम समुदायका मौलाना तथा धर्मगुरुहरू र मुस्लिम समुदाय स्तरका अधिकारकर्मीहरूको सहभागिता थियो।

मुस्लिम समुदायमा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरू खुलेर आफ्ना धारणा राखिरहेका थिए । सामान्यतया प्रजनन स्वास्थ्यजस्तो विषयमा महिलाहरूलाई मात्र केन्द्रमा राखेर छलफल गरिन्छ। तर, यस कार्यक्रममा पुरुष धर्मगुरु र मुस्लिम समुदायका अगुवाहरूलाई केन्द्रमा राखेर उनीहरूको भूमिका र जिम्मेवारीबारे बहस भयो।कार्यक्रममा मुस्लिम समुदायभित्रका रीतिरिवाज, परम्परा, संस्कृति र धार्मिक मान्यतासँगै प्रजनन स्वास्थ्यका सवालहरू माथि गम्भीर छलफल गरिएको हो । विशेषगरी महिलाहरूले प्रजनन स्वास्थ्यका विषयमा भोगिरहेका समस्या, जानकारीको अभाव, स्वास्थ्य सेवामा पहुँच तथा परिवार र समुदायको सोचका कारण सिर्जना हुने चुनौतीहरूबारे सहभागीहरूले आफ्ना अनुभव र धारणा सुनाए।

प्रजनन स्वास्थ्यका विषयमा महिलाहरूलाई मात्र सचेत बनाएर पुग्दैन। परिवार, समुदाय र समाजमा प्रभाव राख्ने पुरुषहरू, अझ धर्मगुरुहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।  धर्मगुरुहरूले धार्मिक तथा सामाजिक सन्दर्भलाई बुझ्दै स्वास्थ्यसम्बन्धी सही सूचना समुदायसम्म पु¥याउन सके प्रजनन स्वास्थ्यका विषयमा रहेका भ्रम र संकोच हटाउन महत्वपूर्ण योगदान पुग्न पुग्ने उनीहरुको धारणा थियो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आयोजनामा आईतबार भैरहवामा आयोजना गरिएको ‘प्रजनन स्वास्थ्यमा पुरुषको भूमिका’ विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा प्रजनन स्वास्थ्यलाई महिलाको मात्रै विषयका रूपमा नहेरी पुरुष, परिवार, समुदाय र सम्बन्धित सबै पक्षको साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले प्रजनन स्वास्थ्यका विषयमा समाजमा अझै पनि विभिन्न प्रकारका भ्रम, संकोच र गलत धारणाहरू रहेको भन्दै त्यसलाई अन्त्य गर्न परिवार तथा समुदायस्तरबाट सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले महिला तथा पुरुष दुवैले प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी हासिल गरी आवश्यक निर्णयमा समान रूपमा सहभागी हुनुपर्ने धारणा स्थापित गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

त्यस्तै कालिका स्वावलम्बन सामाजिक केन्द्र समसारा परियोजनाका टिम लिडर अभिनव चौधरीले परियोजनाले प्रजनन स्वास्थ्य, लैङ्गिक समानता तथा परिवारको स्वास्थ्यसँग सम्बन्धित विषयमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले काम गरिरहेको जानकारी दिनुभयो। उहाँका यो अनुसार समसारा परियोजना रुपन्देही, नवलपरासी र कपिलवस्तुमा लागू रहेको छ।

कार्यक्रममा मौलाना नियाज अहमदले मुस्लिम समुदायको धर्म तथा संस्कारले प्रजनन स्वास्थ्यका विषयलाई कसरी लिएको छ भन्ने विषयमा प्रशिक्षण दिनुभयो। उहाँले धार्मिक तथा सामाजिक मान्यतालाई सकारात्मक रूपमा प्रयोग गर्दै प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो। धर्म र संस्कृतिका नाममा प्रजनन स्वास्थ्यका आवश्यक विषयमा भ्रम सिर्जना हुन नदिन सम्बन्धित समुदायका अगुवा तथा धर्मगुरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। मुस्लिम समुदायमा पछिल्लो समय जन्मान्तर, प्रजनन स्वास्थ्य,अस्थायी साधनको प्रयोग,  यौनका कुरामा सचेतना बढ्दै गएको बताउनुभयो । नियाज अहमदका अनुसार अझैपनि मु्स्लिम समुदायमा महिलाको अधिकार स्थापितका लागि धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।  

त्यस्तै स्वास्थ्य कार्यालय कपिलवस्तुकी जनस्वास्थ्य अधिकृत तथा कार्यक्रमका प्रशिक्षक मधु चौधरीले गर्भावस्थामा महिलालाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन सहयोग गर्ने, पोषणयुक्त खाना तथा आरामको व्यवस्था गर्ने, स्वास्थ्यसम्बन्धी निर्णयमा साथ दिने तथा सुत्केरीपछिको अवस्थामा आमा र शिशुको उचित हेरचाहमा पुरुषको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले शिशु जन्मिएपछि आमाको मात्रै जिम्मेवारी हो भन्ने सोच परिवर्तन गरी बच्चाको स्याहार, पोषण, खोप, स्वास्थ्य परीक्षण तथा सुरक्षित वातावरण निर्माणमा बाबुको पनि उत्तिकै जिम्मेवारी रहने स्पष्ट पार्नुभयो।

कार्यक्रममा अधिवक्ता एवं कालिका स्वावलम्बन सामाजिक केन्द्र समसारा परयोजना रुपन्देही संयोजक गोमती सुनारले प्रजनन स्वास्थ्य अधिकारभित्र प्रत्येक दम्पती तथा व्यक्तिले सन्तान जन्माउने वा नजन्माउने, कति सन्तान जन्माउने, जन्मान्तर कति राख्नेलगायतबारे स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय लिन पाउने विषय पर्ने बताउनुभयो । कार्यक्रममा प्रजनन स्वास्थ्यका विषयमा पुरुषको सहभागिता बढाउन सके परिवार नियोजन, सुरक्षित मातृत्व, मातृ तथा शिशु स्वास्थ्य र लैङ्गिक समानताका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने निष्कर्ष निकालिएको छ । 

पुरुषले प्रजनन स्वास्थ्यसम्बन्धी निर्णयमा महिलालाई साथ दिने, स्वास्थ्य संस्थासम्म पहुँच बढाउने र परिवारको स्वास्थ्यप्रति जिम्मेवार बन्ने वातावरण निर्माण गर्नुपर्नेमा कार्यक्रमका सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रजनन स्वास्थ्य अधिकारले सुरक्षित मातृत्वसम्बन्धी हकका साथै प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन शिक्षा, परिवार नियोजन- गर्भनिरोधको साधनको जानकारी र पहुँच र प्रौढ महिलाका समस्या निर्मूल पार्नेलगायत विषय समेट्छ । नेपालले प्रजनन स्वास्थ्यलाई मान्यता दिने विभिन्न संयन्त्र, यातनाविरुद्धको महासन्धि र महिलाविरुद्व हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि अनुमोदन गरिसकेको छ । नेपालको संविधानको धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ’ भनिएको छ । 
 

प्रतिकृया दिनुहोस
↑