कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू
काठमाडौँ,२३ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। बिहीबार बारम्बार समय तय भएर पनि सरेको मतदान शुक्रबार बिहानैदेखि शुरू भएको हो।
मतदान शुरू हुनुअघि नै प्रतिनिधिहरू लाइनमा बसेका थिए। बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान केनद्र राखिएको छ। खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधिले मतदान गर्नेछन्।
हिमाल हलमा गण्डकी प्रदेश तथा तराई–मधेश हलमा मधेश प्रदेश प्रतिनिधिले मतदान गर्नेछन्। पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले प्रतिनिधिले मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।





प्रतिकृया दिनुहोस