सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवल, असोज २३
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई आशा जगाउन नसकेको बताउनुभएको छ। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ३३औँ साधारणसभा तथा २६औँ अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान हुन नसकेको बताउनुभएको हो।उहाँले पछिल्लो समय उद्योगधन्दाको व्यापारमा गिरावट आउनुका साथै बजारसमेत सुस्ताएको बताउँदै यसलाई सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो।

सोही अवसरमा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरू मोतीपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र औद्योगिक प्रदर्शनीस्थललगायतका आयोजनालाई छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।त्यस्तै, कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई व्यापारिक हबका रूपमा विकास गर्न स्थानीय सरकारका तर्फबाट समन्वय र सहकार्य भइरहेको बताउनुभयो।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले भारतीय खुला सीमा, कर तथा राजस्व र लगानी सुरक्षाका विषयमा सरकारलाई ४२ बुँदे सुझाव दिएको जानकारी गराउनुभयो ।कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा नयाँ र पुराना पुस्तालाई जोडेर संस्थागत विकासका काम गरिएको बताउनुभयो। उहाँले उद्योगी, व्यवसायी तथा विज्ञहरूसँग छलफल गरी राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका काम गरेको जानकारी दिनुभयो। यसका साथै बुटवल उपमहानगरपालिकासँग जोडिएका विषयमा समेत संघका तर्फबाट असल नियतका साथ काम गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य कृष्ण कटुवाल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे तथा महासचिव मुक्ति प्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

आर्थिक पत्रकारिता पुरस्कार स्वर्गीय अधिकारीलाई मरणोपरान्त प्रदान
बुटवल उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार स्वर्गीय डायलसन अधिकारीलाई मरणोपरान्त प्रदान गरिएको छ।संघमा २०५७ सालदेखि २०७६ सालसम्म सञ्चार संयोजकका रूपमा रही आर्थिक, सामाजिक तथा औद्योगिक व्यावसायिक क्षेत्रमा संघले उठाएका मुद्दा, नीतिगत पैरवी तथा सार्वजनिक बहसमा ल्याई योगदान पुर्‍याएबापत स्वर्गीय अधिकारीलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो।

उक्त पुरस्कार संघको साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा पुरस्कार छनोट समितिका संयोजक श्रेष्ठले स्वर्गीय अधिकारीकी जीवनसङ्गिनी चन्दा भुसाललाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गर्नुभयो।

छ जना पत्रकार सम्मानित

यसैगरी, संघले विधागत पत्रकारिता पुरस्कारमार्फत छ जना पत्रकारलाई सम्मान गरेको छ।महिला उद्यमी प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत पत्रकार रेखा भुसाल सम्मानित हुनुभएको छ। नवउद्यमी प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट हिमाल प्रेस तथा खस्यौली साप्ताहिकमा कार्यरत पत्रकार विनोद परियार सम्मानित हुनुभएको छ।औद्योगिक विकास प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट दैनिक पत्रमा कार्यरत पत्रकार तेजेन्द्र केसी, स्थानीय आर्थिक विकास लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट मेचीकाली तथा लोकतन्त्र डटकममा कार्यरत पत्रकार प्रकाश आचार्य, पर्यटन प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट बुटवल एफएम तथा बुद्ध परिपथमा कार्यरत पत्रकार सुदीप भण्डारी र वाणिज्य क्षेत्र प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट समतल अनलाइनमा कार्यरत पत्रकार सन्तकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ।उहाँहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

पाँच जना उद्योगी तथा व्यवसायी सम्मानित

यसैगरी, संघले विभिन्न विधामा पाँच जना उद्यमी तथा व्यवसायीलाई सम्मान गरेको छ।संघले उद्योगीतर्फ फस्ट च्वाइस फुड्स पब्लिक लिमिटेडका कृष्णप्रसाद पौडेल, उत्कृष्ट व्यवसायी वाणिज्यतर्फ ह्यान्डलुम इन्टरप्राइजेजका अजहर हुसेन, कृषितर्फ शाह ब्रदर्स मल्टिप्रपोज प्रालिका नुरुद्दिन शाह, महिलातर्फ सिद्धार्थ डेरी उद्योगकी गीता भट्टराई र सेवा क्षेत्रतर्फ महिमा टुर्स एन्ड ट्राभल्स प्रालिका अनिलमान श्रेष्ठलाई सम्मान गरेको हो। साधारणसभाको अवसरमा संघको कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक अध्यक्ष पद्मचन्द्र श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। उक्त शालिकको अनावरण महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गर्नुभएको हो। त्यसैगरी, संघले २०४१ सालमा पहिलोपटक प्रकाशन गरेको स्मारिकाको पुनःमुद्रण तथा ‘हाम्रो बुटवल स्मारिका २०८३’ को विमोचनसमेत गरेको छ।

प्रतिकृया दिनुहोस
↑