लुम्बिनी पर्यटन नीति २०८३ को मस्यौदामाथि संवाद


बुटवल ,३०असोज 

लुम्बिनी प्रदेशको पर्यटन  २०८३ को मस्यौदा माथि बिहीबार बुटवलमा संवादमार्फत थप सुझाव संकलन गरिएको छ । लुम्बिनी प्रदेश वन,वातावरण तथा पर्यटन मन्त्रालयको आयोजना,बेस संस्थाको व्यवस्थापन तथा संवाद समुह सचिवालय तुलसीपुरको सहजीकरणमा पर्यटन नीतिको मस्यौदा माथि सुझाव संकलन गरिएको हो ।

मन्त्रालयको तर्फबाट तयार गरिएको मस्यौदामाथि लुम्बिनी प्रदेशका नीजि क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले सुझाव तथा राय दिएका थिए । वरिष्ठ पर्यटन विज्ञ डा। गितु गिरी, होटल व्यवसायी भेष बहादुर विष्ट, व्यवसायीहरु माधव खनाल,माया खनाल,सागर अधिकारी,टेकनाथ बस्याल,महेन्द्र श्रेष्ठ,लिलामणी शर्मा, चन्द्र बहादुर थापा,ठाकुर प्रसाद श्रेष्ठ,युवराज घिमिरे,सीपि श्रेष्ठ,टंंक पोख्रेल,नवराज अधिकारी लगायतले पर्यटन नीति लुम्बिनी प्रदेशका लागि उत्तम रहेको बताउनुभएको थियो । तर पनि कहाँबाट आउने पर्यटक,पर्यटकको गन्तव्य स्थल,उनीहरुका लागि दिइने सेवा सुविधा लगायतका बारेमा विशेष ध्यान दिन सुझाव दिएका छन् । सुरक्षाको दृष्टिकोणले लुम्बिनी प्रदेशका पर्यटक गन्तव्य स्थल सुरक्षित र थप सुरक्षामा सुधार हुँदै गएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तले बताउनुभयो भने विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले केही महत्वपूर्ण सुझाव दिदैँ थप गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा पर्यटन विकास परिषद्का निमित्त कार्यकारी निर्देशक शारदा बेल्बासले लुम्बिनी प्रदेशको पर्यटन नीति २०८३ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । सो नीतिको मस्यौदामा पर्वत श्रृंखला, उपत्यका  र  समथर मैदानयुक्त मनोरम भूगोल, वनजंगल, निकुन्ज, उद्यान, विविध  प्रजातिका  वनस्पति, बहुमूल्य जडिबुटी, नदिनाला, तालतलैया, झरना, जनावर, जलचर, चराचुरुंगी, जैविक विविधता, खनिजजस्ता  प्रकृतिमा आधारित  विविध आकर्षण, एैतिहासिक मानव अवशेष, गौरवमय इतिहास, पुरातात्विक स्मारक, ऐतिहासिक गढी, रहस्यमय गुफा, तपोभूमि, देवस्थल, सिद्धपीठ, आध्यात्म, भाषा, साहित्य, कला, संगीत,संस्कृति, सामाजिक संरचना, रहनसहन, बोलीबचन, पहिरन, रैथाने कृषि, पशुपंक्षी, मौलिक परिकार आदि सामाजिक–सांस्कृतिक वैभव  तथा  परम्परागत  शैलीका  ग्रामीण  बस्ती  एवं  विस्तार  हुदै  गएका  आधुनिक  स्वरूपका  शहरी  संरचनाले  लुम्बिनी  प्रदेश  सुशोभित भएको उल्लेख गरिएको छ । 

त्यस्तै ,शान्तिका  अग्रदुत  भगवान  गौतम बुद्धको  जन्मभूमि  लुम्बिनीको  विश्वव्यापी  परिचयले ग्रेटर लुम्बिनी र बौद्ध दर्शनको आलोकमा  पर्यटकीय  सम्भावनालाई  युगौँयुगसम्म जीवन्त  तुल्याउने  विशेष  अवसर  यस  प्रदेशलाई  प्राप्त हुने मस्यौदामा छ ।  बाँके र बर्दिया  राष्ट्रिय  निकुञ्ज, ढोरपाटन सिकार आरक्षजस्ता  पर्यटकीय सम्भावनालाई बहुआयामिक बनाउने  र  राष्ट्रिय  तथा  अन्तराष्ट्रिय  पर्यटक आकर्षित  गर्ने  सुन्दर  सम्पति पनि प्रदेशमा  मौजुद रहेका उल्लेख गरिएको छ । यिनै  सम्भावनाहरुको  भरपुर  उपयोग  गर्दै  यस प्रदेशलाई  विश्व  पर्यटन बजारमा  उत्कृष्ट  पर्यटकीय  गन्तव्यको  रूपमा  चिनारी  गराउँदै  पर्यटकहरुको  आगमन  बढाएर  पर्यटन  क्षेत्रलाई चलायमान बनाउँदै  प्रदेशको  आर्थिक विकासको  आधारस्तम्भको  रूपमा  स्थापित  गर्ने लुम्बिनी  प्रदेश  सरकारको  प्राथमिकता  रहेको जानकारी गराइएको छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीले लुम्बिनी प्रदेशका मूल गन्तव्य स्थलको पहिचान हुने गरि नीति बनाइने जानकारी दिनुभयो । ती मूल गन्तव्य स्थलको सर्कीट बनाईने र व्यापकरुपमा प्रचारप्रसार गरिने बताउनुभयो । यसका लागि लुम्बिनी प्रदेशका विभिन्न होटलमा क्युआरसहितको गन्तव्य स्थलको फोटो टाँस्न अनुरोध गर्ने र सार्वजनिक यातायातका साधनमा पनि अनुरोध गर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव प्रमोद भट्टराईले थ्री स्टारसम्मका होटल दर्ताको अनुमति प्रदेश सरकारलाई भएपनि त्योभन्दा माथिका दर्ता प्रक्रियाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न गरिएको आग्रहका बारेमा सम्बन्धित संघीय सरकारमा अनुरोध गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरु हेमा बेल्बासे केसी, निमल पासवान र रेवती गुरुङलगायतको सहभागिता थियो । संवादको सहजीकरण संवाद समुहका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले स्वागत मन्तव्य सहजकर्ता बिक्रम खडकाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
↑