सकियो कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना
दशैँपछि शपथग्रहण हुने
काठमाडौँ ,३० असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि सम्पन्न चुनावको मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै २३ असोज रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।
लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खसआर्य र थारूतर्फको मतगणना पनि राति अबेर सकिएको उहाँले बताउनुभयो । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको कटुवालले बताउनुभयो ।
अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो । १४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।
यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उहाँले बताउनुभयो । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
अघिल्लो अधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ । उहाँका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम दशैँलगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् ।
बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बताइएको छ ।




.jpeg)
प्रतिकृया दिनुहोस