नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहो¥याउनुपर्ने

बुटवल,कार्तिक २
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दसैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहो¥याउनुपर्ने पनि उहाँले बताउनुभयो ।आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।

हनुमानढोका दरबारको दसैँ घरमा हिजो (आइतबार) पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।नवरात्रको पहिलो दिन गएको असोज २५ गते आइतबार दशैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो । 

दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र हिजो सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । हिजो दशैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । 
 

प्रतिकृया दिनुहोस
↑