बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता
बाँके,कात्तिक ८
जिल्ला प्रहरी कार्यालय बाँकेले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ वटा मुद्दा दर्ता गरेको छ। सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभएको छ।
उहाँका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ जना प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
यसैगरी, आर्थिक अपराधका १६ वटा र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा एक जना पक्राउ परेका छन्। बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फछ्र्योटलाई पनि प्राथमिकता दिएको छ।अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ। यस क्रममा ७० जना पक्राउ परेका छन्। उनीहरूबाट अदालतको फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ। गत असोज महिनामा यस प्रकृतिका १०६ वटा उजुरी प्राप्त भएका थिए। तीमध्ये ९३ वटा फछ्र्योट भएका छन् भने १३ वटा फछ्र्योट हुन बाँकी रहेका छन्।गत असोज महिनामा १२ जना महिला, १४ जना बालिका, ११ जना बालक, दुई जना ज्येष्ठ नागरिक पुरुष र एक जना पुरुष हराएका थिए। हराएकामध्ये १६ जना महिला, १३ जना बालिका, छ जना बालक, दुई जना ज्येष्ठ नागरिक पुरुष र दुई जना पुरुष फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभएको छ।





प्रतिकृया दिनुहोस