गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित
काठमाडौं,कार्तिक १३
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)लाई निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो । सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संस्थाले मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लंघन गरेको जनाएको छ ।
साथै, संस्थाका पदाधिकारीहरूबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि भएको पनि मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो ।
तर, पटक–पटक निर्देशन दिँदा समेत पालना नभएपछि संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले सूचना जारी भएपछि एनप्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने चेतावनी समेत दिएको छ । त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।





प्रतिकृया दिनुहोस