आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव
पेडियाट्रिक वार्ड उद्घाटन
बुटवल,१७ कात्तिक
आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालले दीर्घसेवा कर्मचारी तथा पुर्व कर्मचारीहरुलाई सम्मान तथा अस्पतालको पेडियाट्रिक वार्ड–एनेक्स–१ भवनको उद्घाटन गरेर वार्षिकोत्सव मनाएको हो ।
औपचारिक कार्यक्रम तथा पेडियाट्रिक वार्ड–एनेक्स–१ भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नु भएको हो । उहाँले कार्यक्रममा बोल्दै आम्दा अस्पतालको स्वास्थ्य सेवालाई थप ब्यवस्थित र गुणस्तरीय बनाउन बुटवल उपमहानगरपालिका,बुटवल उद्योग वाणिज्य संघ र आम्दा–नेपाल त्रिपक्षिय सहकार्यलाई बलियो बनाउनु पर्ने बताउनु भयो । प्रमुख अतिथि पाण्डेले स्वास्थ्य सेवा संवेदनशिल विषय भएको उल्लेख गर्दै बालबालिका तथा महिलाहरुको विशेषज्ञ सेवालाई महत्व दिएर स्थापना भएको आम्दाको विकास र थप गुणस्तरकालागि पालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो ।
उहाँले अस्पतालको विकासकालागि आम्दा नेपालले अलि गम्भिर भएर यसको स्तरवृद्धि, जनशक्ति ब्यवस्थापन र भौतिक पुर्वाधार विकासमा गम्भिरतापुर्वक सोच्न समेत सुझाव दिनु भएको छ ।

कार्यक्रममा आम्दा नेपालका अध्यक्ष डाक्टर रोहित कुमार पोखरेलले अस्पताल स्थानीयको सहयोगमा संचालन भएको स्मरण गर्दै आम्दाले ठुलो सपना देखेको बताउँदै आम्दा मेडिकल कलेज संचालनको योजना रहेको पनि बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवाली, आम्दाका सचिव डा. दुर्गाप्रसाद भण्डारी, समाजसेवी जीवनप्रसाद वझा, उज्वल कसजुलगायतले आम्दाको बिकासकालागि रचानात्मक सुझाव सहित सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।
अस्पतालका एचआर देवप्रसाद खनालको संचालन र मेट्रोन कल्पना विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा अम्दा अस्पताल बुटवलका मेडिकल सुपरेटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले अस्पतालको भौतिक, शैक्षिक , स्वास्थ्य सेवा सुधार र गुणस्तर वृद्धिकालागि अहिलेसम्म स्थानीय सरकार ,बुटवल उद्यद्योग वाणिज्य संघ,स्थानीय सबैको सहयोग रहेको भन्दै भन्दै आभार व्यक्त गर्नुभयो ।
एक सय वेडमा रहेको अस्पतालको स्तरवृद्धि गरि ३ सय वेडमा पुर्याउने र भौतिक तथा स्वास्थ्यक्षेत्रको जनशक्ति वृद्धि गरि यस क्षेत्रकै नमुना बाल तथा महिला अस्पताल बनाउने गरि योजना अगाडि बढाइएको हुँदा आगामी दिनमा सहकार्य र सहयोगको थप अपेक्षा गरिएको बताउनु भयो ।
कार्यक्रमका अस्पतालको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका प्रशासक खगेन्द्र क्षेत्रीले अस्पतालबाट गत एक वर्षको अवधिमा छ हजार ९४ जनाले बहिरंग (ओपिडी) सेवा, १४ हजार ३६४ जनाले आकस्मिक सेवा ८ हजार ७०९ ले अन्तरंग सेवा र एक हजार २४४ ले सुरक्षित प्रसुती सेवा लिएको जानकारी दिनु भयो ।
बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र आम्दा नेपालबिचको त्रिपक्षीय सम्झौता तथा सहकार्यमा सिद्धार्थ बाल तथा महिला अस्पताल २०५५ साल कार्तिक १६ गते स्थापना भएको हो । स्थापनाकालदेखि नै महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको अस्पतालले सामान्य ओपिडी सेवाबाट आफ्नो सेवा सुरु गरेको थियो ।
हाल अस्पतालले बाल रोग, स्त्री तथा प्रसूति रोग, स्त्री क्यान्सर, सामान्य चिकित्सा, बाल रोग शल्य चिकित्सा, आँखा, नाक–कान–घाँटी, हाड तथा नशा, दाँत तथा गिजालगायतका सेवा प्रदान गर्दै आएको छ । साथै मधुमेह भएका २५ वर्षसम्मका व्यक्ति तथा थालासेमिया भएका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।





प्रतिकृया दिनुहोस