पद्म चैत्य विहार बुटवलमा कथिन चिवर दान महोत्सव सम्पन्न (फोटो फिचर)

बुटवल, २८ कात्तिक

पद्म चैत्य विहार बुटवल–१ द्वारा शनिबार बुटवलमा कथिन चिवर दान महोत्सव सम्पन्न गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत पद्म चैत्य विहार बुटवल–१ बाट शान्ति र्याली सुरु भई निमचोक हुँदै पारि बुटवल परिक्रमा गरी विहारमा पुगेर समापन भएको थियो।पद्म चैत्य विहार बुटवलका अध्यक्ष पद्मलाल शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न धार्मिक क्रियाकलापहरू सम्पन्न भएका थिए। सो अवसरमा कथिन चिवर दान, भिक्षुबाट बुद्धपूजा, सम्पूर्ण दानदाताहरूबाट अष्टपरिष्कार दान, कथिन दाताहरूबाट धम्मपूजा तथा भिक्षुबाट शील प्रार्थना गरिएको थियो। 

पद्म चैत्य विहारका विहार प्रमुख तथा धम्मानुशासक कविन्दो इष्टविरको तीन महिने वर्षाबास सम्पन्न भएको शुभ अवसरमा कथिन चिवर दान गरिएको हो। भिक्षुहरूले आषाढ पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना एउटै विहारमा बस्ने अधिष्ठानलाई वर्षाबास भनिन्छ। यसरी वर्षाबास बसेका भिक्षुहरूलाई असोज पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म आफू बसेको विहारमा एक पटक मात्र गर्न पाइने चिवरदानलाई कथिन चिवरदान भनिन्छ। 

कार्यक्रममा विहारका अध्यक्ष पद्मलाल शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विहारका महासचिव सुमी शाक्यले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख  खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, वडा नं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत लगायतको सहभागिता रहेको थियो। यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका आनन्द इष्टवीर, भारतको श्रवस्ती र कुशिनगरबाट आउनुभएका भिक्षु गुरुआमाहरू, लुम्बिनीका स्थायी भिक्षुहरू तथा विभिन्न बौद्ध अनुयायीहरू पनि सहभागी रहेका थिए।

 

 

 

प्रतिकृया दिनुहोस
↑