करिब १३ लाख पुग्यो नेपालमा मधुमेह रोगीको संख्या
बुटवल,२८ कार्तिक
आज ‘विश्व मधुमेह दिवस’ यस वर्ष (मधुमेहको समयमै पहिचान गरौँ, जोखिम घटाऔँ, स्वस्थ जीवन बचाऔँ ) भन्ने नाराका साथ मनाइएको गरेको यो दिवसले मधुमेहप्रतिको जनचेतनालाई थप बलियो बनाएको छ ।
नेपालमा मधुमेह (डाइबिटिज) रोगीहरूको संख्या चिन्ताजनक रूपमा बढ्दै करिब १३ लाख पुगेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० देखि ७९ वर्ष उमेर समूहका १२ लाख ५९ हजार १ सय जना वयस्कहरूमा मधुमेहको समस्या देखिएको हो ।
महासंघको प्रतिवेदनअनुसार नेपालमा २० देखि ७९ वर्ष उमेर समूहको कुल वयस्क जनसंख्या १ करोड ९१ लाख १७ हजार ९ सय रहेको छ । यस कुल वयस्क जनसंख्यामध्ये ७.७ प्रतिशतमा मधुमेहको व्यापकता (प्रिभ्यालेन्स) रहेको तथ्यांकले देखाएको छ ।
विश्वव्यापीरूपमा मात्र नभई नेपालमा पनि मधुमेह एक चुनौतीका रूपमा फैलिँदै गएको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्यांकअनुसार नेपालमा करिब १२ लाख ५९ हजार वयस्क मानिसहरू मधुमेहबाट प्रभावित छन् र यहाँ मधुमेहको व्यापकता दर ६.६ प्रतिशत रहेको छ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघको वर्गीकरणअनुसार नेपाल दक्षिणपूर्वी एसियाली क्षेत्रमा पर्दछ। सो क्षेत्रका देशहरूमध्ये २० देखि ७९ वर्ष उमेर समूहमा सबैभन्दा बढी मधुमेहका बिरामी भएका मुलुकहरूको सूचीमा नेपाल चौथो स्थानमा रहेको छ । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी तथा शहरीकरणका कारण नेपालमा पछिल्लो समय मधुमेह लगायतका नसर्ने रोगहरूको जोखिम तीव्ररूपमा बढिरहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । समयमै स्वास्थ्य परीक्षण गर्ने, सन्तुलित आहार लिने र नियमित व्यायाम गर्ने बानी बसालेमा मधुमेहको जोखिम कम गर्न तथा यसलाई नियन्त्रणमा राख्न सकिने चिकित्सकहरूको सुझाव छ ।





प्रतिकृया दिनुहोस