बुटवलको नहरपुरमा सामूहिक छठ पूजाको तयारी

 

बुटवल,२८ कात्तिक

तराई मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ बुटवलमा पनि सामूहिक रूपमा मनाउने तयारी गरिएको छ। मैथिल समाज नेपाल रूपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–११, नहरपुरस्थित छठघाटमा यस वर्ष पनि सामूहिक छठ पूजा आयोजना गर्न लागिएको हो।

छठ पर्वलाई लक्षित गर्दै नहरपुरस्थित छठघाटमा पूजाको तयारी गरिएको आयोजकले जनाएको छ। मैथिल समाज नेपाल रूपन्देहीका सचिव मनोजकुमार मण्डलका अनुसार छठ पूजामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसमेत सहभागी हुने कार्यक्रम छ।

प्रकृति र सूर्य उपासनासँग जोडिएको छठ पर्व चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाउने परम्परा छ। पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।

छठका अवसरमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पूजास्थल निर्माण गरी ठेकुवा, भुसुवा, फलफूल, नरिवल, उखुलगायतका प्रसाद तथा पूजासामग्री चढाउने गर्छन्। यस पर्वमा सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ।

मैथिल समाज रूपन्देही नेपालका अध्यक्ष उदय कुमार सिंहले छठ मैथिल भाषीहरूको मात्र नभएर समग्र नेपालीकै पर्व भएको बताउनुभयो । उहाँले भगवान सूर्यको उपासनाको यो पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य अर्पण गरिने बताउँदै प्रकृति, जल र सूर्यप्रतिको सम्मान तथा आस्थासँग जोडिएको यो पर्व तराई मधेशदेखि पहाडसम्मका सबै समुदायले मनाउने हुँदा सबैको साझा पर्व बनेको बताउनुभयो । बुटवलको नहरपुरमा हुने छठ पूजामा सहभागी हुन सबैमा अनुरोध पनि गर्नुभयो।

धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा छठ पर्वलाई लिने गरिन्छ। पछिल्लो समय बुटवलसहित रूपन्देहीका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पर्व मनाउने प्रचलन बढ्दै गएको छ।

नहरपुरमा आयोजना हुने छठ पूजामा सहभागी भई पर्वलाई सभ्य, भव्य र व्यवस्थित बनाउन आयोजक मैथिल समाज नेपाल रूपन्देहीले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा नगरबासीलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस
↑