बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी हुने
बुटवल ,मंसिर २
नेपाल पिक्चर लाइब्रेरीले आयोजना गर्दै आएको ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ शीर्षकको फोटो प्रदर्शनी बुटवलमा हुने भएको छ । देशव्यापी यात्राको तेस्रो चरणअन्तर्गत बुटवलमा प्रदर्शनी आयोजना गर्न लागिएको हो । यसअघि पहिलो चरणमा वीरगञ्ज र जनकपुर तथा दोस्रो चरणमा सुर्खेत र नेपालगञ्जमा प्रदर्शनी सम्पन्न भइसकेको छ । तेस्रो चरणमा बुटवलसँगै पोखरामा पनि प्रदर्शनी आयोजना गरिने नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ ।
नेपाल पिक्चर लाइब्रेरीले २०७५ सालमा दस्तावेज तथा अभिलेख सिर्जना गर्ने पहलस्वरूप यो परियोजना सुरु गरेको थियो । उक्त परियोजना २०८० सालमा पुस्तकका रूपमा समेत प्रकाशित भएको थियो । प्रदर्शनी यसअघि काठमाडौं, नयाँदिल्ली, कोची, टर्की, सिंगापुर, नेदरल्यान्ड्सको ब्रेडा र अमेरिकाको न्यूयोर्कलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानमा आयोजना भइसकेको छ ।
परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक सहभागितामार्फत नेपालको इतिहासको संरक्षण तथा प्रसार गर्नु रहेको छ । प्रदर्शनीले सार्वजनिक जीवनमा नेपाली महिलाहरूको योगदानलाई उजागर गर्दै समाजमा उनीहरूको ऐतिहासिक महत्त्व स्थापित गर्ने लक्ष्य राखेको छ ।
प्रदर्शनीमा महिलाहरू राजनीतिक सङ्घर्षमा सहभागी भएका, सभालाई सम्बोधन गरेका, शिक्षामार्फत नयाँ बाटो खोजेका, लेखन तथा विचार सिर्जनामा संलग्न भएका र सामाजिक मान्यतालाई चुनौती दिँदै अधिकारका लागि आवाज उठाएका विगतका क्षणहरू समेटिएका तस्बिरहरू राखिनेछन् ।
ग्रामीण तथा सहरी क्षेत्रमा महिला इतिहासका अभिलेखलाई पहुँचयोग्य बनाउने, महिलाहरूको योगदान सङ्कलन तथा स्मरण गर्ने र यस विषयमा साझा मञ्च निर्माण गर्ने उद्देश्यले देशव्यापी प्रदर्शनी यात्रा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
बुटवलमा हुने प्रदर्शनीका लागि नेपाल पिक्चर लाइब्रेरीले वीर फाउन्डेसनसँग साझेदारी गरेको छ । प्रदर्शनीसँगै परियोजनासँग सम्बन्धित फोटोबुकको नेपाली भाषामा मात्र रहेको नयाँ संस्करणसमेत सार्वजनिक गरिने भएको छ । वि.सं. २०८० मा पहिलोपटक प्रकाशित पुस्तकको नयाँ संस्करण प्रदर्शनी स्थलमा खरिद गर्न पाइनेछ ।
प्रदर्शनी मंसिर ३, ४ र ५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी वाणिज्य क्याम्पसको प्राङ्गण, बुटवलमा सञ्चालन हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क तथा खुला रहने आयोजकले जनाएको छ ।


.jpeg)


प्रतिकृया दिनुहोस