रुपन्देही डेरी व्यवसायी समितिको अध्यक्षमा जिवलाल न्यौपाने

बुटवल, मंसिर २ 

रुपन्देही डेरी व्यवसायी समिति बुटवलको अध्यक्षमा जिवलाल न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ। समितिको बुधबार बुटवलमा सम्पन्न १८औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा यमप्रसाद शर्मा, सचिवमा कमल काफ्ले, सहसचिवमा देवराज ज्ञवाली र कोषाध्यक्षमा कृष्ण पोखरेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गिरिधारी खनाल, यादव भट्टराई, यमबहादुर खत्री, हरिप्रसाद न्यौपाने, सुस्मा न्यौपाने र मधु भट्टराई चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत खीमलाल भट्टराईले जानकारी दिनुभयो।

लेखा समितिको संयोजकमा कृष्णप्रसाद उपाध्याय तथा सदस्यमा कृष्णप्रसाद पन्त र बिमला शर्मा चयन हुनुभएको छ।अधिवेशनको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख डा। बालकुमारी शर्माले उद्घाटन गर्नुभएको थियो। उहाँले खाद्य पदार्थ स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो। कार्यालयले दूध, तेल र पानीलाई संवेदनशील खाद्य पदार्थका रूपमा लिएर नियमित अनुगमन, निरीक्षण तथा प्रयोगशाला परीक्षणमा विशेष ध्यान दिँदै आएको उहाँले बताउनुभयो।

खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न सके अनुगमनका क्रममा समस्या नआउने उहाँको भनाइ थियो। उहाँले गुणस्तर कायम गर्न एउटा संस्थाको प्रयासले मात्र सम्भव नहुने भन्दै स्थानीय सरकारले पनि खाद्य परीक्षण प्रयोगशाला स्थापना र खाद्य निरीक्षक नियुक्त गरी अनुगमन गर्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो।

कार्यक्रममा समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले व्यवसायीको हकहित, क्षमता विकास, सामाजिक उत्तरदायित्व तथा व्यवसायको आन्तरिक अनुगमनका क्षेत्रमा काम गरिएको बताउनुभयो। जिल्लामा छरिएर रहेका डेरी व्यवसायीलाई संगठित गर्ने, व्यवसाय दर्ता अनिवार्य गर्ने र व्यवसायलाई व्यवस्थित बनाउने कामलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नरिश्वर शर्मा पौडेल, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कपिल ज्ञवाली, निवर्तमान अध्यक्ष रामकृष्ण शर्मा तथा पूर्वअध्यक्षहरू गणेशसिंह भण्डारी, नेत्र पाठक र कृष्णप्रसाद भट्टराईले दूधजन्य पदार्थको शुद्धता कायम गर्नुपर्नेमा जोड दिनुभयो।उहाँहरूले किसानको लागतका आधारमा दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। दूध उत्पादनदेखि उपभोक्तासम्म पुग्ने विभिन्न चरणमा अनुगमन आवश्यक रहेको भन्दै पशुको स्वास्थ्य र किसान तहबाटै शुद्धतामा ध्यान दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष जिवलाल न्यौपानेले संस्थाको स्थापनादेखिको इतिहास स्मरण गर्नुभयो। सिद्धेश्वर चौरमा भेला भएर संस्थागत एकताका साथ सुरु गरिएको समितिमा स्थापनाकालमा ७२ जना व्यवसायी आबद्ध रहेकोमा अहिले दुई सयभन्दा बढी व्यवसायी जोडिएको उहाँले बताउनुभयो। यसैबीच, कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको समितिका महासचिव यम शर्माले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस
↑