लैंगिक हिंसामा परे बुटवल उपमहानगरमा खबर गर्न उपप्रमुख अर्यालको आग्रह  

बुटवल,मंसिर ९
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले कुनै पनि प्रकारको हिंसा र विभेदमा परेमा उपमहानगरपालिकामा खबर गर्न आग्रह गर्नुभएको छ। महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो मुक्ति ९५.५ को समय सन्दर्भ विशेष कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले लैङ्गिक हिंसा सहेर नबस्न र हिंसाविरुद्ध आवाज उठाउन आग्रह गर्नुभएको हो।

उहाँले महिला हिंसा मात्र नभई लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र भेदभावलाई लैङ्गिक हिंसाका रूपमा बुझ्नुपर्ने बताउनुभयो। हिंसा भएको देखेमा पनि प्रतिकार गर्न र पीडितको न्यायका लागि सहयोग गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो।उपप्रमुख अर्यालले बुटवल उपमहानगरपालिकाले समृद्धिको यात्रालाई अगाडि बढाउन सबै नागरिकलाई उद्यमसँग जोड्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। 

न्यायिक समितिमा परेका अधिकांश मुद्दा उपमहानगरपालिकामै फछ्र्यौट गरिएको उल्लेख गर्दै चार–पाँचवटा मुद्दा मात्रै अदालतसम्म पु¥याउनुपरेको उहाँले बताउनुभयो। यसले स्थानीय तहमा न्याय निरूपणको अभ्यास प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो।उहाँले लैङ्गिक हिंसा, पछाडि पारिएका समुदाय तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालमा निरन्तर आवाज उठाउन आग्रह गर्दै लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि सबै नागरिकलाई हातेमालो गर्न अनुरोध गर्नुभयो।

यसैबीच, रेडियो मुक्ति ९५.५ ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा विशेष कार्यक्रम प्रसारण सुरु गरेको छ। अभियानको शुभारम्भ उपप्रमुख सावित्रा देवी अर्यालसँगको विशेष कुराकानीबाट गरिएको रेडियो मुक्तिका अध्यक्ष खेमकुमारी पोखरेल ‘दीपु’ले जानकारी दिनुभयो।१६ दिनसम्म सञ्चालन हुने विशेष कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, एचआईभी एड्स प्रभावित नागरिक तथा महिला र पुरुषका आजाव बुलन्द गरि नागरिकका अधिकार स्थापित गर्न अभियानमा रहेको रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले जानकारी दिनुभयो।

पहिलोदिनको कार्यक्रम सञ्चालन पत्रकार अस्मिना पाण्डेले गर्नुभएको थियो। २०६५ सालमा स्थापना भएको सामुदायिक रेडियो मुक्तिले लैङ्गिक हिंसा न्यूनीकरण र महिला सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राखेर समाचार तथा विभिन्न कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ।

प्रतिकृया दिनुहोस
↑