नेपाल पत्रकार महासंघ रूपन्देहीको बिरोध : पत्रकारलाई सामूहिक गिरफ्तारको माग
बुटवल,मंसिर ९
पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने तथा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने सरकारको कदमको विरोधमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले प्रदर्शन गरेको छ।महासंघले आज देशभरका जिल्ला शाखामार्फत एकैसाथ विरोध कार्यक्रम गर्ने क्रममा रुपन्देही शाखाले इलाका प्रशासन कार्यालय बुटवलमा धर्ना दिएको हो। धर्नामा सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने प्रवृत्ति अन्त्य गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।
महासंघले पछिल्लो समय सरकारले पत्रकार तथा सञ्चारमाध्यममाथि विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य र सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा गरिएको कटौतीप्रति महासंघले आपत्ति जनाउँदै आएको छ।
धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारमाथि हुने धरपकड र सञ्चारमाध्यमलाई कमजोर बनाउने नीतिविरुद्ध महासंघ आन्दोलनमा उत्रिनुपरेको बताए।त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सुरक्षाका लागि महासंघले देशव्यापी रूपमा आवाज उठाइरहेको बताए। उनले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने अवस्था आउनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर चुनौती भएको धारणा राखे।
कार्यक्रममा पूर्व अध्यक्षहरू बालकृष्ण चापागाईं, यानेन्द्र जीसी, लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यलगायतले सरकारी कदमको बिरोध जनाउनुभएको छ । महासंघले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने, साइबर कानुनको आडमा सञ्चारकर्मीलाई दुःख दिने तथा प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
महासंघले पत्रकारको निर्बाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न, पत्रकारमाथिको धरपकड रोक्न र सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापनको व्यवस्था पूर्ववत् कायम गर्न माग गरेको छ। कार्यक्रममा पत्रकारलाई सामूहिक गिरफ्तार गर लेखिएको ब्यानर टाँगिएको थियो। महासंघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

.jpeg)



प्रतिकृया दिनुहोस