तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्याञ्चल महायज्ञ हुने

 

बुटवल,मंसिर ९

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित ऐतिहासिक तथा धार्मिकस्थल बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना हुने भएको छ।आगामी मंसिर २३ गतेदेखि २९ गतेसम्म सिद्धधाम परिसरमा सञ्चालन हुने महायज्ञमा आचार्य कपिलदेव सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको सिद्धधामका अध्यक्ष ताराप्रसाद छन्त्यालले जानकारी दिनु भयो ।महायज्ञबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सिद्धधामको संरक्षण, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताउनु भएको हो ।

बाउन्नकोटी सामुदायिक वन तथा उपभोक्ता समितिका अध्यक्षसमेत रहनु भएका छन्त्यालले करिब २५ सय वर्ष पुरानो ऐतिहासिक तथा धार्मिक धरोहरका रूपमा रहेको सिद्धधामलाई व्यवस्थित र आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।उहाँका अनुसार धाममा आउने साधुसन्तका लागि पर्याप्त विश्रामस्थल तथा ध्यान केन्द्र निर्माण, पर्यटकीय शिशमहल स्थापना र धामसँग जोडिएका ऐतिहासिक अवशेषको संरक्षण तथा संवर्द्धनका लागि महायज्ञबाट सहयोग जुटाउने योजना रहेको छ ।

धामका संरक्षक पण्डित चन्द्रमणि पौडेलले बाउन्नकोटी सिद्धधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको क्षेत्रसमेत रहेको बताउनु भ्सो । यहाँ युद्धकालीन कुवा, हवनकुण्ड, राजा तथा यात्रु र शिकारीले पानी पिउने हुर्के पानी, प्राचीन नन्दभाउजू ताल, राष्ट्रिय गौशालालगायतका महत्त्वपूर्ण स्थल समेत रहेको उहाँले जानकारी दिनु भयो ।यीनै सम्पदाको संरक्षण, क्षेत्रको विकास र यसको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले महायज्ञ आयोजना गरिएको पौडेलले बताउनु भयो ।

धामका वरिष्ठ उपाध्यक्ष सुमित्रा घिमिरेले समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धि गर्नु महायज्ञको अर्को उद्देश्य रहेको बताउनु भयो । पछिल्लो समय समाजमा बढ्दै गएको अराजकता र असहिष्णुतालाई निरुत्साहित गर्दै मानिसलाई ज्ञान, सत्कर्म र भागवत् प्रेमतर्फ प्रेरित गर्न महायज्ञले योगदान पुर्‍याउने उहाँको विश्वास छ।त्यस्तै, धामका सचिव निलप्रसाद पुनले महायज्ञ अवधिभर दैनिक धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभ्स्यो ।उहाँले सिद्धधामको विकास र संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै श्रद्धालु तथा दाताहरूलाई आफ्नो क्षमताअनुसार सहयोग र दान गर्न आग्रह गर्नु भयो ।महायज्ञबाट संकलित सहयोग सिद्धधामको भौतिक पूर्वाधार विकास, ऐतिहासिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने आयोजकको लक्ष्य रहेको छ।

प्रतिकृया दिनुहोस
↑