डब्लुडब्लुजेको 'भर्चुवल सन्डेक्लव' सम्पन्न
बुटवल
लकडाउन खुलेपछि देशभर समूदायस्तरमा फैलिदो कोभिड-१९ को उचित व्यवस्थापन नगरे भयावह अवस्थाको सामना गर्नुपर्ने बताइएको छ ।
बर्नमाउथ युनिभर्सिटी, लण्डनको सहयोगमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आज आयोजना गरेको 'कोभिड-१९ लकडाउन पछिको अवस्था : बढ्दो जोखिम र अपनाउनु पर्ने सुरक्षा व्यवस्था' विषयक भर्चुवल सन्डेक्लव कार्यक्रममा सो चिन्ता व्यक्त गरिएको हो ।
कार्यक्रममा काठमाडौं मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा.सुनिलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा सरकारले केही गर्छ भन्नु भन्दा समूदायले आफैं सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
कोभिड-१९ नयाँ रोग भएकोले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँ अनुसार यसको स्वरुप र लक्षण समेत फरक देखिएको हुनाले मास्क लगाउनु, सावुन पानीले हात धुनु वा ७० प्रतिशत अक्कोहल भएको सेनिटाइजरले हात धुनु, कम्तिमा एक मिटरको दूरी राख्नु र प्रर्याप्त हावाको आवागमन हुने स्थानमा (भेन्टिलेटर) बस्नु यसबाट बाँच्ने उपाय भएको उनको भनाइ थियो ।
प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिदै उनले लागेपछि उपचार नभएकोले लाग्न नदिनु तर्फ लाग्नु पर्नेमा लकडाउन खुलेपछि धेरैले विश्वव्यापि सुरक्षा सर्तकता नअपनाएकोले पनि जोखिम बढेको डा.जोशीले बताए ।
काठमाडौं मेडिकल कलेजमा आएका न्यूरोका विरामी र सुत्केरी महिलाको शल्यकृया गरी घर पठाएपछि उनीहरुमा कोभिड-१९ भएको पृष्ठी भएको हुनाले सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकमी र सहयोगीको पीसीआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव सुनाउँदै उनले भने- सबैले मास्क लगायत सुरक्षाका सबै उपाय अपनाएको हुनाले कसैलाई कोरोना सरेन, त्यसैले हामीले पनि लकडाउन पछि यस्तै सुरक्षाका उपाय अपनाए कोरोना सर्दैन ।
मुलुकमा आर्थिक समस्या परिरहेकोले लकडाउन खोल्न परेको चर्चा गर्दै उनले लकडाउन खोल्दा एकै चोटी नखोलेर क्रमशः खोल्नु पर्नेमा जथाभावी हुन गएकोले अझै पनि सुरक्षाकर्मीले कडा गरेर सुरक्षाका उपाय अपनाउन लगाउने, मास्क र सेनिटाइजरको व्यवस्थापन गर्न लगाए जोखिम कम हुने उल्लेख गरे ।
बढि भिडभाड भएको स्थानमा नजाने, कुनैपनि कार्यक्रमको आयोजना नगर्ने, धार्मिक र सामाजिक कार्य नगर्ने जस्ता उपाय अपनाउनु पर्ने सुझाव दिदै उनले भने, धेरै व्यक्ति जम्माको र गुम्सेको स्थानमा कोरोनाको एकजना पनि विरामी पनि भए ९९ प्रतिशत कोरोना सर्छ ।
अहिले मुलुकमा जनस्वास्थ्य आपतकाल भएको चर्चा गर्दै उनले शारिरीक र सामाजिक दूरीको पालना नगर्नेलाई सामाजिक वहिष्कारको धारणा ल्याएर कडा रुपमा सरकारले कार्यवाही गर्नुपर्ने बताए ।
काठमाडौं मेडिकल कलेजको दुवाकोट स्थित अस्पताललाई कोरोना अस्पताल बनाएपनि सरकारले खासै सहयोग नगरेको र भेन्टिलेटर किन्नमा कर समेत पनि मिनाहा नगरेको दुखेसो पाख्दै उनले सो अस्पतालमा कोरोनाको परिक्षण र विरामीलाई निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।
कोरोनाको उपचारको औषधी नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधी दिनुका साथै नियमित रुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गरिएको उनले बताए ।


.jpeg)


प्रतिकृया दिनुहोस