औद्योगिक विकासको लागि गठबन्धनका उम्मेद्वारको साझा प्रतिवद्धता
औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भईरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरुको प्रतिवद्धता छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरुसंग सत्ता गठबन्धनबाट प्रतिनीधि सभा सदस्य उम्मेद्वार केशवबहादुर थापा, प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
त्यस्तै बुटवल रामनगरको औद्योगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्याउने, व्यावसायीका लागि सस्तो व्याजदरमा सुलभ तरिकाले कर्जा उपलव्ध हुने वातावरण मिलाउने उनीहरुको प्रतिवद्धता छ ।
कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिवद्ध रहेको बताउनु भयो । यस क्षेत्रमा औद्योगिक विकासको लागि मोतिपूर औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णता दिने प्रतिवद्धता जनाउनु भयो ।
त्यस्तै बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाई समेत व्यवस्थापन गर्ने उहाँको भनाई छ । त्यस्तै निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ । औद्योगिक क्षेत्रको बिकास तथा लगानीको वातावरण सिर्जना गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने उहाँको भनाई छ ।
त्यस्तै रुपन्देही २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले औद्योगिक विकास, कृषिमा व्यवसायिक विकास तथा पर्यटन उद्योगको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिईने बताउनु भयो । त्यस्तै प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले आफू प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा औद्योगिक विकासको लागि खाका बनाएको र सोही अनुसारका कामलाई प्राथमिकता दिएको भनाई राख्नुभयो ।
त्यस अवसरमा उद्योगी व्यवसायीहरुले पटक पटक जितेका उम्मेदवारबाट औद्योगिक विकासको साटो वातावरण नै विगार्ने काम भएकोले त्यसलाई सुधार गरेर मोतिपुर औद्योगिक क्षेत्रलाई परिस्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाई राखेका थिए । त्यस्तै लगानीको वातावरण, लगनाी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।


.jpeg)


प्रतिकृया दिनुहोस