बुटवलको नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराई  

 बुटवल, बैशाख ११ 

 नेकपा एमालेले बुटवल उपमहानगर पालिकाको नगरप्रमुखमा बाबुराम भट्टराईलाई अगाडि सारेको छ । त्यसैगरी उपमेयरमा सावित्रादेबि अर्याललाई अगाडि सारेको छ ।  अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहनुभएका भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थाल्नुभएको थियो । 
    पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा वहाँमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभयो । लामो समय वहाँले व्यवसाय क्षेत्रमा रहेर काम गर्नुभयो भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य हुनुहुन्छ । नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गर्नुभएको अनुभव छ । 

२०४६ सालको जनआन्दोलनमा सक्रिय  सहभागिता जनाउनु भट्टराई २०६२÷६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजकको जिम्मेवारी सम्हालि सक्नुभएको छ । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै वहाँले बुद्धिजीवी परिषदमा रहेर पनि काम गर्नुभयो । भट्टराई ३५ वर्षको उमेरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बन्नुभएको थियो । 

पार्टीमा धेरैले वहाँलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् । भट्टराईले तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हालको लुम्बिनी प्रादेशिक अस्पताल) को समेत अध्यक्ष बनेर नेतृत्व स्थापित गरिसक्नुभएको छ  ।
 

प्रतिकृया दिनुहोस