बी.पी.को ४४औं स्मृति दिवस : बी.पी.को मार्गर्दशन आज पनि लोकतन्त्रको प्रेरणा
बुटवल,साउन ६
जननायक विशेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४४औं स्मृति दिवस बुटवलमा मनाईएको छ । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका नगर समितिको आयोजनामा बुटवलस्थित बीपीचोकमा रहेको बी.पी. कोइरालाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्दै मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य नारायण भट्टराईले लोकतन्त्र,राष्ट्रिय एकता,मेलमिलाप र मानव स्वतन्त्रताप्रतिको बी.पी.कोइरालाको योगदान नेपाली राजनीतिक इतिहासको अमूल्य सम्पत्ति भएको बताउनुभयो । उहाँले बी.पी.ले देखाएको सत्य ,साहस र समर्पणको मार्गले न्यायपूर्ण,समतामूलक र समृद्ध नेपाल निर्माणतर्फ आज पनि सबै बिचारहरुलाई प्रेरित गरिरहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाड,लुम्बिनी प्रदेश सचेतक जमुना ढकाल,नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी लगायतले बोल्दै बी.पी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कृतिलाई बर्तमान पुस्ताले आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका सभापति एवं नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका नगर सभापति खेलराज पाण्डेले बी.पी. को विचार र आदर्शलाई व्यवहारमा उतार्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध भएर अघि बढ्ने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । नगर सचिव छाया पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र,प्रदेश,जिल्ला,क्षेत्र,नगर,वडा तहका नेता तथा कार्यकर्ता,भातृसंगठनका अध्यक्ष एवं,प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।





प्रतिकृया दिनुहोस