बुटवल २ रामघाट क्षेत्रलाई हरियाली वनस्पतिको केन्द्र बनाउने अभियान सुरु

बुटवल,साउन ६ 
लागुऔषध सेवन तथा अन्य गैरकानुनी गतिविधिको थलो बन्न थालेको गुनासोहरु आउन थालेपछि बुटवल उपमहानगरपालिका वडा नम्बर २ को रामघाट क्षेत्रलाई अब हरियाली र औषधीय वनस्पतिको केन्द्र बनाउने अभियान सुरु गरिएको छ । बुटवल अटो इन्जिनियरिङ एशोसियसन, रूपन्देहीले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर झाडी फडानी गर्दै ‘श्री त्रिफला बाटिका’ स्थापना गरेको छ ।  अभियानअन्तर्गत त्रिफलाका बिरुवासहित फलफूल, बाँस लगायत ३५० वटा बिरुवा रोपिएको हो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–२ का वडा अध्यक्ष सुनिल शाक्यले झाडी हटाएर हरियाली कायम राख्ने अभियानको प्रशंसा गर्दै यसले वातावरण संरक्षणसँगै सामाजिक विकृति न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।  उहाँले यस्ता रचनात्मक कार्यमा वडा कार्यालय र बुटवल उपमहानगरपालिकाको आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

एशोसियसनका अध्यक्ष प्रेम गौचनले रामघाट क्षेत्रमा बाक्लो झाडीका कारण लागुऔषध सेवन तथा अन्य गैरकानुनी गतिविधि हुने गरेको गुनासो आएपछि क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताएउनुभयो । कार्यक्रममा ज्योतिष जनार्धन भण्डारीले ‘त्रिफला’को आयुर्वेदिक महत्वबारे जानकारी गराउनुभएको थियो ।  उहाले हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला प्राचीन आयुर्वेदिक औषधि भएको उल्लेख गर्दै यसले पाचन प्रणाली सुधार गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, आँखाको स्वास्थ्य जोगाउने, छाला र कपाललाई स्वस्थ राख्ने तथा शरीरको तौल नियन्त्रणमा सहयोग पु¥याउने बताउनुभयो । यस्ता बहुउपयोगी औषधीय वनस्पतिको संरक्षण र विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो । 

कार्यक्रम संयोजक मनीष पाण्डेले त्रिफलाका बिरुवासँगै विभिन्न फलफूलका बिरुवा, बाँस तथा अन्य प्रजातिका गरी ३५० वटा बिरुवा रोपिएको जानकारी दिनुभयो ।  उहाले बिरुवा रोपेर मात्र नछोडी तिनको नियमित संरक्षण, स्याहार–सम्भार र व्यवस्थापनमा पनि एशोसियसनले विशेष ध्यान दिने बताउनुभयो । बुटवल अटो इन्जिनियरिङ एशोसियसनले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै वातावरण संरक्षण, सार्वजनिक स्थलको सौन्दर्यकरण र औषधीय वनस्पतिको संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ ।  स्थानीयवासीले पनि रामघाट क्षेत्रलाई हरियाली र सुरक्षित सार्वजनिक स्थलका रूपमा विकास गर्ने अभियानको स्वागत गरेका छन् । सो अवसरमा मैनाबगरमा नै रहेको अस्थायी प्रहरी बिट जितगढीको समेत सहभागिता रहेको थियो।  

एसोसिएसनका महासचिव पुनित पोखरेलले साउन २ गतेदेखी स्थापना दिवसका बिभिन्न कार्यक्रमहरु भईरहको बताउनुभयो । उहाले २ गते शनिबार सरसफाइ तथा डस्टबिन वितरण, ४ गते वृहत् रक्तदान कार्यक्रम भईसकेको बताउँदै साउन ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने जानकारी गराउनुभयो ।
 

प्रतिकृया दिनुहोस